Skip to main content

धनगढी न्यूज

सिरहा-३ : ‘हामी त भोट बैंक मात्र हो, सबै आउँछन् झुटा आश्वासन दिएर जान्छन्’

Advertisement

सिरहा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर ३ मा ४१ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारहरू चुनावी प्रचार अन्तर्गत घरदैलो कार्यक्रममा जुटिरहँदा यो क्षेत्रमा पर्ने हरिपुर बेतौनाका मुसहर समुदाय भने आधारभूत आवश्यकता कसरी पूरा गर्ने भन्ने चिन्तामै छन् ।

सिरहा क्षेत्र नम्बर ३ मा पर्ने गोलबजार नगरपालिका-१२ हरिपुर बेतौनाका ६० घरपरिवार पानी, शौचालय जस्ता आधारभूत सुविधाबाट वर्षौंदेखि वञ्चित छन् । चुनावी माहोल बढ्दै जाँदा उनीहरू भने ओत लाग्ने घर, शुद्ध पिउने पानी र शौचालयको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन् । शौचालय नहुँदा अर्काको खेतबारीमा गएर शौच गर्नुपर्ने बाध्यता छ, आइरनयुक्त दूषित पानी पिउनुपर्छ ।

उनीहरूले आफ्नै बलबुतामा चुलै अगाडि शौचालय र घरको बलेसीमै पानीका लागि चापाकल जडान गरेका थिए । टहरो अड्याउने जमिन समेत नभएका यहाँका सदायको आँगनै भएर गएको गोलबजार–लगडीगदियानी सडक विस्तारका क्रममा पाँच वर्षअघि घर, शौचालय र पाचाकलहरु भत्काइए । त्यसपछि उनीहरु घर, शौचालय र पिउने पानीको समस्या भोगिरहेका छन् । धेरैले भत्किएका घर सकार्न सकेका छैनन् । कतिपयले पानीको जोहो समेत गर्न सकेका छैनन् भने जमिनै नभएपछि शौचालय बनाउने त कुरै भएन ।

गोलबजार नगरपालिकाले भने वर्षेनि पिउने पानी र सिँचाई बोर्डिङ जडानका लागि करोडौं रकम खर्च गर्दै आएको छ । प्रदेश र संघीय सांसदले पनि सिंचाई र खानेपानीका लागि राम्रै पहल गरे । तर ६० घर दलित विपन्न सदाय परिवार आज पनि आइरनयुक्त दूषित पानी पिउन बाध्य छन् । उनीहरुले त्यही पानी तान्ने चापाकल समेत पाएका छैनन् । यसले जितेर गएका जनप्रतिनिधिको दलितप्रतिको दृष्टिकोण उजागर गरेको छ ।

Siraha 3

स्थानीय ४७ वर्षीय प्रमोद सदाय २ छोरा, २ बुहारी र नातिनातिनासहित बस्दै आएका छन् । तर उनीहरूसँग आफ्नो जमिन छैन ।

‘जमिन छैन, एउटै घरमा खाट मात्र अट्ने गरी बारेर सुत्ने गरेका छौं । आँगन दुईजना राम्रोसँग उभिन मिल्नेसम्म पनि छैन,’ उनी भन्छन्, ‘त्यति जमिनमा कता पानीका लागि कल जडान गर्ने, कता शौचालय बनाउने ?’

संविधान जारी भएपछि दुईवटा निर्वाचन सम्पन्न भयो, तर आफूहरुले विकासका नाममा पानी समेत नपाएको उनको गुनासो छ । ‘चुनावका बेला घर बनाइदिने, पानी, बिजुली, शिक्षा, स्वास्थ्य सबै दिने वाचा गर्छन्, चुनाव जितेपछि हामी गरिबले केही पाउँदैनौं,’ उनी भन्छन् ।

नगरपालिका र वडा कार्यालयले गाउँभरि नै पिउने पानी र सिंचाईका लागि कल र बोरिङ जडान गरेपनि यस बस्तीमा केही छैन । ५० वर्षीय गंगावत सदायको घर सडक विस्तारका क्रममा भत्काइयो । ‘पानी र शौचालयको के कुरा, आर्थिक अभावका कारण भत्केको घर सकार्न सकेको छैन,’ उनी भन्छन्, ‘शौचालय नभएकाले हाम्रा छोरीबुहारीले लोकलाज त खेप्दै आएका छन् । कहिलेकाहीँ खेतवालाको बेइज्जती पनि सहनुपर्छ ।’

गरिब-दु:खीका लागि सरकार नै नभएको जस्तो लाग्ने उनी गुनासो गर्छन् । ‘हाम्रो लागि सरकार कहाँ छ र ? हामी त भोट बैंक मात्र हौं । सबै आउँछन् झुटो आश्वासन दिन्छन् । चुनावपछि हामीसँग भेटै हुँदैन,’ सदाय भन्छन् ।

गंगादेवी र प्रमोद त प्रतिनिधि पात्र हुन् । पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको यो बस्तीका ६० घरपरिवारकै पीडा उस्तै छन् । उनीहरु अब चुनावमा झुटा आश्वासन बाँड्ने होइन, काम गरेर देखाउने नेता चुन्न चाहन्छन् । पुराना दलले आफ्ना लागि केही नगरेको भन्दै उनीहरू अब नयाँ दल र नेता चुन्ने सोचमा छन् ।

सिरहा-३ मा नेपाली कांग्रेसका सुभाषचन्द्र यादव, नेकपा एमालेका लीलानाथ श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका विश्वनाथ साह र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. शम्भु यादव उम्मेदवार छन् । यस्तै जनता समाजवादी पार्टी नेपालबाट अशेश्वर यादव र जनमत पार्टीबाट रोहित महतो चुनावी मैदानमा छन् । यो क्षेत्रमा यसपटक यिनै दलबिच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

यो निर्वाचन क्षेत्रमा ५५ हजार ८५९ महिला र ६३ हजार ३९१ पुरुष गरी एक लाख १९ हजार २५० जना मतदाता छन् । चुनावका लागि ५३ वटा मतदानस्थल र १३६ मतदान केन्द्र तोकिएको छ । रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...