Skip to main content

धनगढी न्यूज

लिची बगैंचा हत्याउन गिरोह फेरिरहन्छन् सुजन, हकवालादेखि पैसावालासम्म करारनामा

Advertisement

 

४ साउन, पोखरा । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता,  भूमि व्यवस्था मन्त्री बलराज अधिकारी र पूर्वभूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ (चौधरी)सम्म मुछिएको पोखराको लिची बगैंचा प्रकरणमा बिचौलिया सुजन लामाले गिरोह फेरिरहने गरेको पाइएको छ । स्वार्थ समूह, राजनीतिक शक्ति र सरकारकै सम्बन्धित मन्त्रीलाईसमेत प्रयोग गर्न लामा खप्पिस देखिएका छन् ।

पोखरा–१६ लिची बगैंचाको करिब १ सय ३५ रोपनी जग्गा दुर्गादेवी शाह र लोकदिव्यश्वरी शाहकै नाममा कायम गर्न ४० वर्षअघि तत्कालीन कास्की जिल्ला, अञ्चल र पश्चिमाञ्चल अदालतले गरेको फैसलाअनुसार हकवाला खडा गरी जग्गा दर्ता गराउन गिरोह फेर्दै, राजनीतिक शक्तिको आडसमेत लिने गरेको पाइएको हो ।

लामाले २०८० र २०८१ सालमा जग्गाको हकवाला खडा गर्दै फरक–फरक करारनामा गरेका छन् । जहाँ जग्गा दर्ताको काम सकिएपछि लाभको प्रतिशतसमेत बाँडफाँट गर्दै लिखित करारनामा गरेका हुन् ।

लामाले फरक–फरक गिरोह प्रयोग गर्दै जग्गाको हकवालासँग करारनामा गर्दा उनेपक्षबाट हस्ताक्षर गर्नेमध्ये यमकुमारी गुरुङ भने एउटै व्यक्ति छन् । यमकुमारी तिनै व्यक्ति हुन्, जो लामाले छुट जग्गा दर्ता गराइदिने भन्दै देउतीमाया गुरुङको घरसमेत उनकै नाममा ल्याएर खाइदिएका थिए ।

लामाले जग्गाको हकवाला खडा गर्दै मालपोत र नापी कार्यालयमा आफूले भनेका प्रमुख ल्याएर दुर्गादेवी र लोकदिव्यश्वरी शाहको नाममा भएको फैसलाअनुसार जग्गा हत्याउन खोजेका थिए । लामाले मुख्य रुपमा दुर्गादेवी तर्फको जग्गा हत्याउन लागिपरेरै मालपोत कार्यालयमा फाइल दर्ता गराएका थिए ।

दुर्गादेवी तर्फको जग्गामा बाटुलेचौरकै गीतादेवी, सुरज शाह ठकुरी, सुनील शाह र ओमबहादुरलाई हकवालाका रुपमा खडा गरी फाइल पेश गरिएको छ । उनीहरु जग्गावाला भनिएकी दुर्गादेवीका ४ छोरामध्येका सन्तान हुन् ।

दुर्गादेवी शाहका चार जना छोरा चक्रबहादुर, बाबुराम, शेरबहादुर र भीमबहादुर थिए । तीमध्ये चक्रबहादुर र बाबुरामको अविवाहित अवस्थामै मृत्यु भएको थियो भने शेरबहादुरको २०६१ सालमा मृत्यु भएको मालपोतमा बुझाइएको निवेदनदेखि करारनामासम्ममा उल्लेख छ ।

शेरबहादुरका एक मात्र छोरा ओमबहादुर कोरियामा कार्यरत छन् भने भीमबहादुरका छोराहरू सुरज शाह ठकुरी र सुनिल शाह ठकुरी हुन् । त्यसैले ओमबहादुर, सुरज र सुनील गरी तीन जना मात्र टेकबहादुर र दुर्गादेवीका जीवित हकदार भएको करारनामामा बताइएको छ ।

लिचीबारी दर्ता गराएर २०८० साल माघ २४ गते यिनै ४ जना हकवालासँग लाभको प्रतिशत बाँडफाँट गर्न लामाले करारनामा गराएका थिए । जसमा जग्गाका हकवालातिरका चारै जनाले पहिलो पक्षका रुपमा हस्ताक्षर गरेका छन् । दोस्रो पक्षका रुपमा यमकुमारी गुरुङ र देवबहादुर मल्लले हस्ताक्षर गरेका छन् । साक्षीका रुपमा भने उनै सुजन लामा र मनकुमारी शाह ठकुरी छन् ।

यो पनि पढ्नुहोस

देउतीको घरै खाइदिए, हाकिम मैले नै ल्याएको हुँ भन्थे सुजन

लामाले जग्गाको हकवाला भनिएकाहरुसँग करारनामा गरेपछि जग्गा बिक्री गर्नका लागि पैसावाला व्यक्तिहरु पत्ता लगाएरसमेत लिखित कागज गराउने गरेका थिए । तर, उनले यसमा यमकुमारीबाहेक फरक–फरक स्वार्थ समूह तथा गिरोह प्रयोग गर्ने गरेका थिए ।

दुर्गादेवी शाहतर्फ अदालतले फैसला गर्दा उल्लेख गरेको नक्सा नम्बर २५, २६ र २८ को जग्गा दर्ता, नामसारी र अदालतको फैसला कार्यान्वयन गर्ने सम्पूर्ण कामको जिम्मेवारी सुजन लामालगायतलाई दिएका छन् । त्यसबापत सम्पूर्ण खर्च दोस्रो पक्षले बेहोर्ने करारनामामा उल्लेख छ । यसरी खर्च गरेबापत दर्ता हुन आउने कुल जग्गा मध्येबाट ३३ प्रतिशत प्रथम पक्षले पाउने उल्लेख छ । बाँकी ४० प्रतिशत यमकुमारी गुरुङले र बाँकी २७ प्रतिशत देवबहादुर मल्लले पाउने उल्लेख गरिएको छ ।

यो करारनामापछि २०८१ साल जेठ २० गते जग्गाका हकवाला भनिएकासँग लामाले दोस्रो करारनामा गराएका छन् । अघिल्लो करारनामा पछि केही व्यक्तिसँग पैसा उठाएका लामाले यसपटक राजनीतिक हिसाबले नै जोडिएका र पहुँच पुर्‍याउन सक्ने व्यक्तिहरुलाई जोडेका थिए ।

जग्गाको हकवालातर्फ प्रथम पक्षबाट पुरानै व्यक्तिहरुले हस्ताक्षर गरेका छन् भने सुजनकै साक्षी दोस्रो पक्षबाट यमकुमारी गुरुङ, तुल्सीराम बुढामगरले हस्ताक्षर गरेका छन् । यसपटक पनि साक्षीमा लामा दोहोरिएका छन् भने रोल्पाको साविक राङकोट गाविस–७ बस्ने कुमानसिंह वली थपिएका छन् ।

लिचीबारी

करारनामामा एकमुष्ठ क्षेत्रफल जग्गाबाट ६० प्रतिशत प्रथम पक्षले, २० प्रतिशत यमकुमारी गुरुङ र २० प्रतिशत तुल्सीराम बुढामगरको संयुक्त नाममा प्राप्त गर्ने करारनामामा उल्लेख छ ।

यसपटक भने उनको काम गर्ने मुख्य व्यक्तिहरुका रुपमा माओवादीका केन्द्रीयस्तरकै नेताहरुसँग सम्पर्क सम्बन्ध भएका परिवर्तन पुनका नामले चिनिने व्यक्ति जोडिएको विशेष स्रोतको भनाइ छ ।

त्यतिमात्रै होइन, पछिल्लो पटक सुजनका तर्फबाट पूर्व भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ निकट राजन गुरुङ नाम गरेका व्यक्ति पनि जोडिएको स्रोतको भनाइ छ । राजन रञ्जिता नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको गण्डकी अध्यक्षसमेत हुन् ।

यमकुमारीले प्राप्त गर्ने लाभ नै लामाको भएको घटनाक्रमले देखाएको छ । लामा विभिन्न व्यक्तिहरुसँग छुट जग्गा दर्ता गर्ने र लिचीबोटको जग्गा मिलाइदिने भनेर पनि विभिन्न व्यक्तिहरुसँग अरु सम्झौता नै गर्ने गरेका छन् । लामाले चन्द्रबहादुर तामा, वीरेन्द्र चौधरी, चेतबहादुर कुमाल, खेमबहादुर पुनलगायतसँग लिचीबोटकै जग्गा मिलाइदिने भन्दै पैसा लिएको आरोप छ ।

पहिलो पटक जग्गावालाहरुसँग करारनामा गरेका व्यक्तिहरुसमेत अहिले लामाबाट टाढा भइसकेका छन् । पहिलो करारनामामा दोस्रो पक्षबाट हस्ताक्षर गरेका पोखरामा हिलप्वाइन्ट नामको निजी विद्यालयसमेत चलाइरहेका देवबहादुर मल्ल हुन् ।

यो पनि पढ्नुहोस

लिचीबारी मिलाइदिने र जग्गा छुट दर्ता गरिदिने भन्दै करोडौं उठाएका थिए सुजनले

मल्लले आफ्ना भाइमार्फत लामासँग भेट भएको र करारनामालगत्तै आफू त्यो कामबाट टाढा भएको बताए । ‘दुर्गादेवीकै हकवाला मध्येकी एकजना हाम्रो आफन्त पनि पर्ने भएकाले म भाइमार्फत सुजनसँग जोडिएको थिएँ । तर, उनको नियत ठिक नलागेपछि म आफैं यो कामबाट पछि हटेको हुँ,’ मल्लले अनलाइनखबरसँग भने, ‘पछिल्लो समय सबै कुरा लामाले नै गर्थे, केके भयो, काम कहाँ पुगेको थियो, म जानकार छैन ।’

जग्गाबारे ३ वटा अदालतले फैसला गरेको भए पनि काम सजिलै हुने नदेखेपछि र धेरैको स्वार्थ जोडिएपछि आफू त्यसमा नरहेको मल्लले बताए ।

लामाले कतै पनि उजुर नगर्न आग्रह गर्दै छिट्टै पैसा फिर्ता गर्ने बताइरहेकाले उनलाई पैसा बुझाएका धेरै व्यक्ति खुल्न मानिरहेका छैनन् । उनले २/३ दिनभित्रैको मिति दिएकाले आफ्नो नाम नखुलाइदिन आग्रह गर्दै एक पीडितले भने, ‘जग्गा दिलाइदिने नाममा पैसा बुझाइयो तर अब न पैसा, न जग्गा आउने देखियो ।’

मालपोत र नापीका कर्मचारी सरुवा गराउनसमेत सफल भएका लामा कास्कीमा नामुद विचौलियाका रुपमा परिचित छन् । उनले कर्मचारीको सरुवा गराइदिने, सरुवा गराएर पत्र देखाउँदै हिँड्ने र सरुवा हुन चाहे पनि आफूलाई भन्न आग्रह गर्ने गरेका थिए ।

लामाले आफ्नो बुवा र हजुरबुवाको नामको चेकसमेत दिने र पछि फिर्ता नगर्नेसमेत गर्ने गरेको प्रमाण देवती गुरुङले नै दिएकी छन् । उनलाई सुजनले धाबा लामा नाम गरेका व्यक्तिको ४९ लाख रुपैयाँको चेकमा आफूले हस्ताक्षर गरेर दिएका थिए ।

कास्की प्रहरी प्रमुख एसपी श्यामनाथ ओलियाका अनुसार लामाविरुद्ध केही उजुरी आएको भए पनि अझै धेरै जना खुल्न डराइरहेको बताउँछन् । उनले आर्थिक लेनदेनको काम प्रहरीले नहेर्ने भएकाले पनि धेरै जना प्रहरीमा नआउने बताए ।

यो पनि पढ्नुहोस

मन्त्री गुप्ताले घुस लिएको बाटुलेचौर जग्गाको नालीबेली

फरक–फरक नामसमेत उल्लेख गर्ने सुजनले स्वार्थ समूह र राजनीतिक शक्तिसँग छिटो नजिकिने र फाइदा उठाउने गरेको जानकारहरु बताउँछन् । उनले कास्कीमा यसअघि विदेश पठाइदिने नाममा पनि ठगी गरेको उनीबाट पीडित एक व्यक्तिले बताए ।

तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्याकालमा पनि गुरुङको स्वकीय सचिव हुँ भन्दै ठगी गरेको आरोपमा लामा पक्राउ परेका थिए ।

छुट जग्गा दर्ता गराउन लामाले मालपोत, नापी कार्यालय प्रमुखदेखि प्रहरी प्रशासनसम्मलाई हातमा लिने भन्दै पैसा उठाउने गरेको पीडितहरुले बताएका छन् ।

लामाले पोखरा–१६ को अमरदीपमा रहेको करिब १ सय ३५ रोपनी जग्गा हडप्न चलखेलसहित सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, पूर्व भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ, वर्तमान भूमि व्यवस्था मन्त्री बलराम अधिकारीसमेतलाई प्रभावमा पारेको नेताहरु नै बताउँछन् ।

सुजन लामा

लामाले गुप्तासँग गरेको कुराकानीको अडियो नै सार्वजनिक भएको छ भने रञ्जितासमेत यो काण्डमा मुछिएकी छन् । रञ्जितालाई पोखरामा ल्याउने, घुमाउने, होटलमा राख्ने काम लामाले गर्ने गरेका थिए ।

लामाले मालपोत कार्यालयमा फेरि रामचन्द्र अधिकारीलाई नै प्रमुख बनाएर ल्याउन खोजेको सार्वजनिक अडियोमै छ । रामचन्द्र अहिले मालपोत लमजुङमा कार्यरत छन् ।

विचौलिया लामासँग जोडिएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा नै बताएका छन् । अन्य दुई मन्त्रीमाथि पनि आरोप लागिरहेको छ । तर, सुजन भने अहिले राज्यको अनुसन्धानको दायरामा आएका छैनन् ।

यति ठूलो अडियो प्रकरण र पोखराको लिची बगैंचा हडप्ने प्रपञ्चबारे सार्वजनिक हुँदा पनि कारबाही नथालिनु, राज्यले चासो नदेखाउनु अचम्म लाग्दो विषय भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सुशासनको क्षेत्रमासमेत काम गरिरहेका आनन्दराज मुल्मी बताउँछन् ।

४० वर्षभन्दा पुरानो फैसला देखाउँदै पोखरा–१६ दीपको लिची बगैंचा बारीका रुपमा चिनिएको जग्गा हडप्ने चलखेल भएको हो । तत्कालीन राजाले राणाहरुलाई बिर्ता दिएको जग्गा अर्कैको नाममा गएको भन्दै २०३१ सालमा अदालतमा परेको मुद्दाको फैसला बोकेर करिब १ सय ३५ रोपनी जग्गा हत्याउन चलखेल भएको हो ।

यो पनि पढ्नुहोस

पोखराको ‘लिचीबारी’ हडप्न घुस डिल : मन्त्रीसँग साँठगाँठ, कर्मचारीलाई त्रास

‘पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरिरहेको छ, मन्त्रीज्यू । हामी यहाँ हेरेर यसरी बसेर हुन्छ ?’ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग विचौलिया सुजन लामाले भनेको सार्वजनिक अडियोमा सुनिएको छ । उनले पोखराको जग्गाले हेरिरहेको भनेको यही लिची बारी हो । जुन जग्गा हत्याउन लामाले हकदार खडा गर्नेदेखि राजनीतिक शक्तिको आडमा कर्मचारीलाई दबाब दिनेदेखि कर्मचारी सरुवासमेत गराएका थिए ।

२०३१ सालमा विभिन्न व्यक्तिहरुले कीर्ते गरी आफूहरुको जग्गा हडपेको भन्दै दुर्गादेवी शाह र लोक दिव्यश्वरी शाहले कास्की जिल्ला अदालतमा मद्दा हालेका थिए । जिल्ला अदालतले उनीहरुको मागअनुसार जग्गा कायम गर्न फैसला गरेको थियो ।

तत्कालीन जिल्ला, अञ्चल र पश्चिमाञ्चल गरी ३ वटै अदालतले दुर्गादेवी शाह र लोकदिव्यश्वरी शाहका नाममा जग्गा कायम हुने फैसला गरेका छन् ।

तर, अदालतको फैसलाअनुसार त्योबेलादेखि कुनै दुर्गादेवी वा कुनै लोकदिव्यश्वरी जग्गा आफ्नो नाममा गराउन गएनन् । त्यसपछि विभिन्न व्यक्तिहरुमार्फत किनबेच भइसकेको थियो ।

विभिन्न व्यक्तिहरुसँग पैसा उठाएर दुर्गादेवी र लोकदिव्यश्वरी शाहको नाममा जग्गा फिर्ता ल्याउने चलखेल पछिल्ला मुख्य रुपमा २ वर्षदेखि नै चलेको हो । लामाले मुख्य रुपमा दुर्गादेवी शाहको जग्गा फिर्ता ल्याउने भन्दै पैसा उठाउनेदेखि मन्त्री, नेता, कर्मचारीसम्मलाई प्रभाव पार्ने गरेको कर्मचारीहरुको भनाइ छ ।

अदालतको फैसलाअनुसार दुर्गादेवीको नामको जग्गा फिर्ता ल्याउने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएको कर्मचारीलाई दबाब दिने, मन्त्री र नेताहरुसँगको सम्बन्ध र शक्तिको दुरुपयोग गर्ने नेतृत्व लामाले गरेका हुन् ।

दुर्गादेवीको नाममा तत्कालीन अदालतले उल्लेख गरेको नक्सा नम्बर २५, २६ र २८ नम्बरको जग्गा पाउन हकदार खडा गरिएको हो । यस्तै गरी लोकदिव्यश्वरीको नाममा कायम गर्न अदालतले गरेको फैसलाअनुसार नक्सा नम्बर २, १२, २०, २१, २२ र २७ को जग्गा हत्याउन विचौलियाले चलखेल गरेका हुन् । अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...