Skip to main content

धनगढी न्यूज

युवा शक्तिको उपयोग

Advertisement

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा राष्ट्रको प्रमुख धरोहरका रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मानिन्छ ।

विश्वका युवा भविष्यको जिम्मेवार वर्ग हुन् । युवासँग अथाह चुनौतीसँग जुध्न सक्ने असीम बल हुन्छ । उनीहरूको संवेदनशीलता निश्चल र निर्मल हुन्छ । युवा प्रगति, परिवर्तन एवं क्रान्तिका दूत हुन् । त्यसैले त विश्वभरिका युवालाई सही दिशा र एउटा सुन्दर भविष्यको प्रेरणा प्रदान गर्न प्रत्येक वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको प्रमुख उद्देश्य विश्वभरिका युवालाई जागृत गर्नु हो । युवा शक्तिको सदुपयोग गरेर विश्वको सुन्दर भविष्यको सङ्कल्प साकार पार्नु हो ।

युवाको अगााडि एउटा सुन्दर देश बनाउन र परिमाणमुखी आकार दिनका लागि उत्कृष्ट विचार र रचनात्मक ऊर्जा छ । युवाको शक्ति पूरै देशका लागि असामान्य धन हो । युवाको अनुहार नै वर्तमान र भविष्यको अनुहार हो तर देशको भविष्यको अनुहार मानिने र परिवर्तनको संवाहक मानिने नेपाली युवाको अवस्था र सहभागिता भने उत्साहजनक छैन । राष्ट्रिय विकासमा युवा सहभागिता न्यून छ । युवावस्था जीवनको त्यो अवधि हो, जुन शक्ति र क्षमतासँगै अगाडि बढ्छन् ।

विडम्बना नेपाली युवाको शक्ति र क्षमता अवसरबाट वञ्चित हुँदा क्षीण भएको छ । युवाको उमेर समूहको आवश्यकतालाई दृष्टिगत गर्न नसक्दा कैयौँ युवाका सपना गर्भमै तुहिएका छन् । युवाले पाउनुपर्ने अधिकारसहित राज्यको सेवा सुविधा प्राप्त नहुँदा युवाका पाइला गैरसामाजिक तथा दुव्र्यसनीमा फसेका छन् । युवाका लागि सरकारले तथा युवासम्बन्धी काम गर्ने सङ्घ संस्थाले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण सिर्जना गर्न सकेका छैनन् ।

युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्ने नीति बनाइएको छैन । कतिपय नीति बने पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । शिक्षा आर्जनका क्रममा रहेका, रोजगारी तथा वृत्तिविकासको अवस्थामा रहेका युवाका मुद्दा तथा प्राथमिकतालाई ध्यान दिइएको छैन । युवाको संवेदनशीलता र जीवनयापनका विविध पक्षबारे नजरअन्दाज गरिएको छ । वैदेशिक रोजगारी र अध्ययनका नाममा दैनिक सयौँको सङ्ख्यामा पलायन हुने युवालाई रोक्न सकिएको छैन । युवालाई देशभित्र टिकाउन प्रशस्त मात्रामा युवा आकर्षिक कार्यक्रम तयार गर्न सकिएको छैन । यस सम्बन्धमा न राज्य गम्भीर भएर लागेको छ न त यस सम्बन्धमा सरकारलाई सुनाउन सक्ने गरी कसैले आवाज बुलन्द गर्न सकेको छ । बिदेसिएका सिर्जनशील, प्रतिभावान् र क्षमतावान् युवालाई स्वदेशमै फर्काउन यथेष्ट प्रयास पनि गर्न सकिएको छैन ।

गुणस्तरीय, समयसापेक्ष, रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सिप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा पलायन, कमजोर स्वास्थ्य पोषण र मनोबल, युवामैत्री लगाानी र उद्यमशील वातावरणको अभाव, लैङ्गिक, क्षेत्रीय, जातीय असमानता तथा विश्वव्यापीकरण र उदारीकरणले ल्याएका नकारात्मक प्रभाव नेपाली युवाका समस्या एवं चुनौतीका रूपमा रहेका छन् ।

युवालाई देशमै टिकाउनका लागि सर्वप्रथम सुशासन हुनु पर्छ । हरेक युवाले आज विश्व बुझेको छ । आफ्नो सिप र क्षमता कहाँ गएर बढाउन सकिन्छ र त्यसलाई कहाँ प्रयोग गर्न सकिन्छ भनेर उसले राम्ररी चाल पनि पाएको छ । आफ्नो सिप र क्षमता बढाउन र त्यस अनुसार आर्जन गर्न जो पनि तयार हुन्छ । यो मानवीय स्वभाव नै हो । विशेष गरी आफ्नो भविष्य सुरक्षित हुन्छ, सुख पाइन्छ भनेपछि युवा पनि त्यो बाटोमा नजाने कुरै हुँदैन । त्यसैले युवालाई आफ्नो क्षमता र सिप बढाउन र त्यसलाई प्रयोग गरेर आफ्नो भविष्य देशमै सुरक्षित हुन्छ भन्ने वातावरण बनाउन राजनीतिक नेतृत्वले सुशासनमा जोड दिनु पर्छ । अनि मात्र युवा देशमै रहन सक्छन् । भ्रष्टाचार, अनियमितता, प्रशासनिक झमेलाले युवालाई देशमा टिकाउन सघाउँदैन । यस पक्षमा राजनीतिक साथै प्रशासनिक नेतृत्वले विशेष भूमिका निर्वाह गर्नु पर्छ ।

युवा राष्ट्रको महत्वपूर्ण स्रोत भएकाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत जनजीवनका हरेक क्षेत्रमा उनीहरूमा निहित क्षमताको विकास गरी राष्ट्र निर्माणमा अग्रसर गराउन जरुरी छ । युवामा सिर्जनशीलता, वैज्ञानिकता, जिम्मेवारीपूर्ण व्यवहार, उद्यमशीलता, नागरिक सोच र जवाफदेहिताको विकास गरी न्याय र नैतिकतामा आधारित स्वच्छ सामाजिक जीवनको विकास गर्न युवाको अन्तर्निहित क्षमताको विकास गर्न आवश्यक छ ।

युवा प्रतिभा पलायन रोक्न उपयुक्त व्यवस्थापन तथा विश्वव्यापी रूपमै सिर्जना हुने अवसरमा नेपाली युवाको पहुँच सुनिश्चित गर्नु पर्छ । युवाको आधारभूत अधिकारको प्रत्याभूति गर्दै युवा सशक्तीकरणका माध्यमबाट सामथ्र्यवान्, उद्यमशील, सिर्जनशील तथा वैज्ञानिक एवं सकारात्मक सोचयुक्त समृद्ध युवा तयार गर्न सक्नु पर्छ । सार्थक सहभागिता, क्षमता र नेतृत्व विकासका माध्यमबाट युवालाई राष्ट्रिय विकासको मूल धारमा समाहित गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्न युवाको भूमिका र उनीहरूमा अन्तर्निहित क्षमतालाई गुणात्मक बनाउने लक्ष्य लिनु पर्छ । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्दै युवाको शारीरिक, मानसिक, बौद्धिक, नैतिक तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोबलयुक्त नैतिक, सुसंस्कृत, सिर्जनशील र व्यावसायिक रूपमा दक्ष युवा तयार पार्ने लक्ष्य लिनु पर्छ । युवालाई परिवर्तनको संवाहक र दिगो विकासका उत्प्रेरक शक्तिका रूपमा विकास गर्न राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, लोकतन्त्र र मानव अधिकारका आधारभूत सिद्धान्त एवं मूल्यमान्यता बोध गराउने कार्यक्रम सञ्चालन गर्नु पर्छ ।

अन्त्यमा युवाको संवेदनशीलतालाई दृष्टिगत गरी जीवनयापनका विविध पक्षबारे मार्गदर्शन गर्नु राज्यको प्रमुख दायित्व हो । युवा राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका संवाहक भएकाले राष्ट्रिय नीतिबाट विशेष रूपमा सम्बोधन गरी राष्ट्र निर्माणमा अग्रसर गराउन अवश्यक छ । युवा शक्ति कुनै पनि देशको त्यो तागत हो, जसले देशको भविष्यलाई बदल्न सक्छन् । युवाको हकहितको संरक्षण र संवर्धन गरी समुन्नत मुलुक निर्माणका लागि सक्षम नागरिक तयार गर्न तथा युवालाई सशक्तीकरण गरी युवा सम्बन्धी विषयको नीति निर्माणदेखि कार्यान्वयन तहसम्म आवश्यकता अनुसार उनीहरूलाई संलग्न गराउनु पर्छ । उनीहरूलाई राष्ट्रिय विकासको मूल प्रवाहमा समावेश गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न जरुरी छ । विद्यमान समस्या तथा चुनौती सम्बोधन गर्दै युवा विकासका अवसर तथा सम्भावनाका ढोका खोल्न जरुरी छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...