पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले गण्डकी प्रदेशबाट उम्मेदवार आकाङ्क्षीको नाम सिफारिस गरेको छ । प्रदेशका सबैजसो क्षेत्रबाट उम्मेदवारका आकाङ्क्षीहरूको नाम सङ्कलन गरेर जिल्ला हुँदै प्रदेशमा पठाइएको छ ।
केही जिल्लाको छलफल चलिरहेको छ । मनाङको भने छलफलसमेत सुरु भएको छैन । कास्की, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, नवलपुर, बागलुङ, गोरखा, म्याग्दी र मुस्ताङबाट उम्मेदवार आकाङ्क्षीको नाम सङ्कलन गरेर नामहरू माथिल्लो कमिटीमा पठाइएको एमालेले जनाएको छ ।
सिफारिस सूचीमा पार्टीका शीर्ष नेता, पूर्वमन्त्री, बहालवाला सांसददेखि डन पृष्ठभूमिका नेता पनि छन् । केही क्षेत्रमा सर्वसम्मत एकल नाम सिफारिस हुँदा बागलुङ–१ मा विवाद भएको छ । केही जिल्लामा आकाङ्क्षीहरूको नाम निकै लामो छ ।
गोरखा–२ बाट चक्रे मिलन (मिलन गुरुङ) को सिफारिसले एमालेको उम्मेदवार छनोट मापदण्डमाथि प्रश्न उठाएको छ । नवलपुर–२ मा तिलक महत र बागलुङ–२ मा मञ्जु शर्मा चालिसेको एकल सिफारिस भएको छ ।
गोरखाः ‘चक्रे मिलन’ को इन्ट्रीले तरङ्ग
एमाले गोरखाले दुवै निर्वाचन क्षेत्रबाट १४ जनाको नाम सिफारिस गरेको छ । सबैभन्दा बढी चर्चा क्षेत्र नम्बर २ मा छ । यहाँबाट ६ जनाको नाम सिफारिस भएको छ ।
२०७९ मा पराजित भएका अब्दुस मियाँसँगै मिलन गुरुङ उर्फ चक्रे मिलनको नाम उम्मेदवारका रूपमा सिफारिस भएको छ । ‘गुन्डा नाइके’ को छवि बनाएका चक्रे मिलनको नाम सिफारिस भएपछि सामाजिक सञ्जाल र पार्टीभित्रै पनि आलोचना भइरहेको छ । यहाँबाट बाबुराम थापा, शशिकला देवकोटा पोखरेल, कमल दानी र वसन्त गुरुङको नाम पनि सिफारिस भएको छ ।
क्षेत्र नम्बर १ बाट ८ जनाको नाम सिफारिस भएको छ, जसमा अमिर काजी थापा, आरसी लामिछाने, कृष्णप्रसाद काप्री, चेतबहादुर रोकाहा, विशाल थापा, डा. मोदराज बगाले, देवी थापा र लिलानाथ न्यौपानेको नाम सिफारिस गरिएको एमाले जिल्ला सचिव काजीराम रोकाले जानकारी दिए ।
कास्कीः तीन क्षेत्रमा ३२ जना
कास्कीका तीन वटै निर्वाचन क्षेत्रबाट एमालेले कुल ३२ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नं १बाट निवर्तमान सांसद मनबहादुर गुरुङसहित ८ जना आकाङ्क्षी छन् भने क्षेत्र नम्बर २ बाट पोखरा महानगरका वडा सदस्य झपट रानाभाट सहित ११ जना र क्षेत्र नम्बर ३ बाट निवर्तमान सांसद दामोदर बैरागी सहित १३ जना छन् । क्षेत्र नम्बर १ बाट गुरुङसहित पार्टीका जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, दिलिप न्यौपाने, पुष्पज्योति ढुंगाना, टीकाराम पंगेनी, पदम प्रसाद पौडेल, बालासिंह काउचा मगर र नारायणी भट्टराईको नाम क्षेत्र नम्बर १ बाट सिफारिस भएको छ ।
क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य कृष्णबहादुर थापा, प्रभा कोइराला, रश्मी आचार्य, मीना गुरुङ, सञ्जीव कोइराला, तेजनारायण अधिकारीको नाम सिफारिस भएको छ । यस्तै, केशव आचार्य, भेषराज बराल, बलराम आचार्य र रामप्रसाद सुवेदी पनि सिफारिस भएका छन् ।
क्षेत्र नम्बर ३ बाट पनि निवर्तमान सांसद बैरागीसहित देवीप्रसाद सुवेदी, माधव बास्तोला, लक्ष्मण बराल, भोजकुमारी थापा, नन्दलाल अधिकारी, जगतबहादुर विश्वकर्मा, धनबहादुर नेपाली, राजीव पहारी, कर्णबहादुर गुरुङ सिफारिस भए । सूर्य खड्का बिखर्ची, डीबी नेपाली र ओमप्रसाद सुवेदी पनि सिफारिस भएका छन् ।
बागलुङ : एउटामा एकल, अर्काेमा उजुरी
बागलुङ क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसेको नाम सर्वसम्मत (एकल) सिफारिस भएको छ । १२ जना आकाङ्क्षी भए पनि अन्तिममा एकल नाममै सहमति जुटेको हो । क्षेत्र नम्बर १ मा भने विवाद उत्पन्न भएको छ । क्षेत्रीय कमिटीले इन्द्रलाल सापकोटा, हिराबहादुर केसी र मनकुमारी केसीलाई सिफारिस गरेपछि अर्का आकाङ्क्षी श्रीप्रसाद शर्माले विधि मिचिएको भन्दै केन्द्रमा उजुरी दिएका छन् ।
लमजुङः नवौँ पटक चुनाव लड्दै पीएस
गण्डकीका संस्थापक मुख्यमन्त्री एवं एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ पुनः लमजुङबाट सिफारिस भएका छन् । उनी उम्मेदवार बनेको खण्डमा उनको नवौँ चुनावी प्रतिस्पर्धा हुनेछ । यहाँ जमिन्द्रमान घले, धनञ्जय दवाडी, कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नाम पनि सिफारिस गरिएको एमाले लमजुङले जनाएको छ ।
तनहुँः दुवै क्षेत्रमा १९ आकाङ्क्षी
तनहुँको क्षेत्र नम्बर १ मा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने र पूर्वप्रदेश सांसद रामबहादुर गुरुङ, अनिल पाण्डे, मोहन विश्वकर्मा, प्रतापलाल श्रेष्ठ, प्रेम कुमार राना, शोभा गुरुङ र पूर्ण बहादुर गुरुङलाई सिफारिस गर्ने निर्णय गरेको क्षेत्र नम्बर १ का अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।
क्षेत्र नं २ बाट केदार सिग्देल र किरण गुरुङसहित ११ जनाको नाम सिफारिस गरिएको छ । निर्वाचन समन्वय कमिटीका अध्यक्ष राजेश्वर ढकालको अध्यक्षतामा बसेको बैठकले सिग्देल र गुरुङसहित नारायण खनाल, हरिराज कँडेल, राजेश्वर ढकाल, रत्ना देवी घिमिरे, बाबुराम सुनार, चन्द्रकला पौडेल, विष्णु अधिकारी पराजुली, रामचन्द्र उपाध्याय र नरेन्द्र वाग्लेको नाम सिफारिस गरेको हो ।
स्याङ्जाः पद्मा अर्याल समानुपातिकमा, प्रत्यक्षतर्फ २१ जनाको दाबी
गत निर्वाचनमा दुवै क्षेत्र गुमाएको स्याङ्जा एमालेले यसपटक आक्रमक तयारी गरेको छ । पूर्वमन्त्री पद्मा अर्याल समानुपातिकमा बसेपछि प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ मा खिमबहादुर थापा लगायत १५ जना र क्षेत्र नम्बर १ मा नारायणप्रसाद मरासिनीसहित ६ जना आकाङ्क्षी देखिएका छन् । क्षेत्र नम्बर १ मा मरासिनीसँगै, सीमाकुमार क्षेत्री, टेकु नेपाली, मीनप्रसाद गुरुङ, पिताम्बर खनाल र ईश्वरी सिग्देल अर्यालको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर २ बाट थापासँगै, सोभियत ढकाल, मोहन रेग्मी, उदय श्रेष्ठ, महेन्द्र थापा मगर, सूर्यप्रसाद गैरे (पारस), रामचन्द्र भट्टराई र ऋषि कँडेलको नाम सिफारिस गरिएको छ । यस्तै, विश्वनाथ अर्याल, नाँसिर खाँ, खगिसरा थापा, भूपराज अधिकारी, किशोरविक्रम मल्ल, वृद्धिमान श्रेष्ठ र दीपेन्द्र रेग्मीको नाम पनि सिफारिस गरिएको छ ।
नवलपुरः २ मा सर्वसम्मत, अर्काेमा रोचक भिडन्त
नवलपुरको क्षेत्र नम्बर २ बाट एकल नाम सर्वसम्मत सिफारिस भएको छ । केन्द्रीय सदस्य तिलक महतको नाम सर्वसम्मत सिफारिस भएको हो । उनी २०७४ मा सोही क्षेत्रबाट विजयी भएका थिए भने २०७९ मा पराजित भए ।
उता क्षेत्र नम्बर १ मा भने रोचक सिफारिस छ । देवचुलीका मेयर हरि न्यौपाने र उनकै स्वकीय सचिव सागर न्यौपानेको नाम उम्मेदवारमा सिफारिस भएको छ । यस्तै, रवीन्द्र अधिकारी, डा. गोपाल खनाल, छत्रराज पौडेल, भागिरथ सापकोटा, गोपेन्द्रकेशरी न्यौपाने र तिलोत्तम पौडेलको नाम पनि सिफारिस भएको छ । यो क्षेत्र कांग्रेसको पकड भएको क्षेत्र हो । डा. शशांक कोइराला यही क्षेत्रबाट लगातार ३ पटक निर्वाचित भएका थिए । आगामी निर्वाचनमा रास्वपाले यो क्षेत्रलाई ‘ग्रीन जोन’ मानेको छ ।
म्याग्दीः युवा नेताको निरन्तर प्रतिस्पर्धा
एउटामात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीले प्रतिनिधि सभा निर्वाचनका लागि युवा नेता प्रकाश पौडेलसहित पाँच जनाको नाम सिफारिस गरेको छ । अनेरास्ववियुको अध्यक्षमा पराजित पौडेलको नाम आसन्न चुनावका लागि उम्मेदवारका रूपमा सिफारिस भएको हो । म्याग्दीमा पौडेलले लोकप्रिय युवा नेताको छवि बनाएका छन् । जिल्ला कमिटी बैठकले पौडेलसहित एमाले केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठ, एमाले म्याग्दी जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) केन्द्रीय सचिव बलादेवी राई, अखिल नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष पशुपति शाहीलाई छनोट गरेको छ ।
मुस्ताङः पहिलो पटक माथिल्लो मुस्ताङ रोजाइमा
मुस्ताङ जिल्ला कमिटीले पहिलो पटक माथिल्लो क्षेत्रलाई समेटेको छ । यहाँबाट पूर्वप्रदेश सभा सदस्य इन्द्रधारा विष्टसहित ३ जनाको नाम सिफारिस गरिएको हो । विष्ट २०७४ मा मुस्ताङ (क) बाट निर्वाचित भएका थिए । उनीसँगै टसी स्याङ्बो गुरुङसेनी र विनोद बिसीको नाम समेत सिफारिस गरिएको अध्यक्ष दिपक लालचनले जानकारी दिए ।
पर्वतः गुटभित्रै प्रतिस्पर्धा
पर्वतले ११ जनाको नाम अनुमोदन गरेर प्रदेशमा सिफारिस गरेको छ । पर्वतबाट निवर्तमान सांसद पदम गिरी सहितका नेताहरू आकाङ्क्षी छन् । ध्रुब श्रेष्ठ, विकास लम्साल, शान्त पौडेल, जुनादेवी नेपाली, राजु पौडेल, गोविन्द पहाडी, पदमपाणी शर्मा, सुन्दर भुसाल, शारदा शर्मा र गोविन्द भुसालको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।
मनाङः एकल सिफारिस गर्ने
एमालेले मनाङबाट एकल नाम सिफारिस गर्ने जनाएको छ । यद्यपि हालसम्म नाम सिफारिस गरिसकेको छैन । जिल्ला सचिव राजन गुरुङका अनुसार केन्द्रले हस्तक्षेप नगर्ने गरी नै जिल्लाबाट नाम सिफारिस गर्न लागिएको हो ।
महिला छायामा
नेकपा एमालेले प्रदेशका निर्वाचन क्षेत्रबाट सिफारिस गरेका आकाङ्क्षीको नाम हेर्दा महिलाहरूको नाम निकै कम छ । त्यसो त, हेभीवेट भनिएकाहरू नै प्रत्यक्ष चुनाव लड्न चाहेका छैनन् । अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष टुका हमालको नाम समानुपातिक सूचीमा आएको छ । उनीमात्र होइन, केन्द्रीय सचिवमा दोस्रो पटक निर्वाचित पद्मा अर्याल पनि समानुपातिक सूचीमा छिन् । उनीहरू प्रत्यक्ष चुनाव लड्ने आँट गर्नुपर्नेमा समानुपातिक तर्फ जानु गलत भएको एमाले नेताहरूकै तर्क छ ।
‘महिला नेताहरू आफैँ अघि सरेर म चुनाव लड्छु भन्न सकिरहेका छैनन्,’ एक नेताले भने, ‘अर्काेतिर पार्टीका कमिटीहरूले अझै पनि महिलालाई मूल नेता वा जित्ने उम्मेदवारका रूपमा स्वीकार गर्न नसकेको मनोविज्ञान हावी छ ।’रातोपाटी बाट साभार






