धनगढी न्यूज

शुक्लाफाँटा निकुञ्जबाट गाउँ पस्‍यो जंगली हात्ती, बेलडाँडीमा घर र खेतीमा क्षति

कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएको एक जंगली हात्तीले गाउँबस्तीमा पस्दै घर तथा अन्नबालीमा ठूलो क्षति पुर्‍याएको छ।

मंसिर २० गते बिहान करिब ४ बजेको समयमा जंगली हात्ती गाउँबस्तीमा प्रवेश गरी स्थानीय बासिन्दाका घर, घरभित्र राखिएको अन्नपात तथा खेतबारीमा लगाइएको बालीमा क्षति पुर्‍याएको हो। घटनामा कुनै पनि मानवीय क्षति नभएको जनाइएको छ। स्थानीयवासी, नेपाल प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीले हात्तीलाई धपाएर पुनः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ फर्काएको छ।

शुक्रवार राति आएको हात्ती नै शनिवार राती गाउँमा पसेको स्थानीयले बताए। शुक्रवार राति सोही हात्तीले स्थानीय कमल गिरीको घरमा आक्रमण गरी धान लगायतको घरमा भण्डार गरेको अन्नपात खाएको थियो। गाउँलेहरूले होहल्ला गरेर भगाएको हात्ती शनिवार पुनः गाउँमा पसेको हो।

हात्तीको आक्रमणमा परी कमल गिरीको काठ र माटोले बनेको माटोको टायल छाना भएको दुई कोठे कच्ची घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ। साथै गिरीको करिब ५ कठ्ठा जमिनमा लगाइएको उखु, ५ कठ्ठा जमिनमा लगाइएको गहुँ तथा तोरी बालीमा समेत ठूलो क्षति पुगेको छ। घर क्षति भएपछि गिरीको चार सदस्यीय परिवार हाल भाइको घरमा आश्रय लिइरहेका छन्।

यस्तै, जङ्गली हात्तीले स्थानीय नेपाली गिरीको काठ र माटोले बनेको दुई कोठे कच्ची घरको एकातर्फको बार भत्काइ घरभित्र राखिएको चामल, धान, गहुँ र पिठो खाइ नष्ट गरेको छ।

यसैगरी, बिरजनी गिरीको काठ र माटोले बनेको माटोको टायल छाना भएको एक कोठे कच्ची भान्सा घर भत्काइ पूर्ण रूपमा क्षति पुर्‍याएको छ।

स्थानीयवासीहरूले जंगली जनावरको बढ्दो आतंकप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायसँग क्षतिको उचित मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्तिको माग गरेका छन्। उनीहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बेवास्ताका कारण जङ्गली हात्तीले गाउँमा पसेर आतंक मचाएको गुनासो गरेका छन्।

जनप्रतिनिधिले गरे अनुगमन, हात्ती फेरि आयो!
शुक्रवार कमल गिरीको घरमा मात्रै क्षति गरेर भागेको हात्ती शनिवार राति फेरि गाउँमा पसेको हो। शनिवार कमल गिरीको घरमा भएको क्षतिको अनुगमन गर्न प्रदेश सभा सदस्य देवानसिंह बिष्ट, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानालगायतको टोली गाउँमा पुगेको थियो। उनीहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अधिकारीहरूसँग हात्तीहरूलाई गाउँतर्फ आउन नदिने उपाय अपनाउन आग्रह गर्ने बताएका थिए। तर, शनिवार राति फेरि आएको हात्तीले कमल गिरीसहित थप दुई जनाको घरमा क्षति गरेको छ।

स्थानीयको घर हात्तीले भत्काएपछि बैजनाथ माध्यमिक विद्यालयले  सामान राख्न पीडित परिवारलाई एक कोठा उपलब्ध गराएको छ। स्थानीय समस्यामा परेपछि अत्यावश्यक  सामान राख्न विद्यालयलको खाली कोठा उपलब्ध गराएको प्रधानाध्यापक तीर्थराज भट्टले दिनेश खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×