धनगढी न्यूज

प्रलोपाका उम्मेदवार सन्तोष विष्टको चुनावी एजेण्डा, गाँजा खेतीलाई वैधानिकता

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट मकवानपुर–२ बाट उम्मेदवार बनेका सन्तोष विष्टले गाँजा खेतीलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् । चुनावी प्रचारप्रसारको क्रममा क्षेत्र नं. २ का मतदातासमक्ष विष्टले चुनावी एजेन्डा प्रस्तुत गरेका हुन् । मकवानपुर–२ मा किसानका मुख्य समस्या गाँजा खेती रहेकाले कानुनी दायरामा ल्याएर खुला गर्नुपर्ने उनले बताएका छन् ।

‘यहाँ हाम्रो किसानहरूले गाँजा खेती गर्नुहुन्छ । गाँजा औषधीय गुणको रूपमा प्रयोग गरिन्छ भनेर वैज्ञानिक रूपमा पुष्टि भएको छ। तर यहाँ  प्रतिबन्धित लागुऔषधको रूपमा जनतालाई दुःख दिने काम भइरहेको छ’, उनले भने, ‘राज्यद्वारा यहाँ लगभग हरेक हप्ता एक न एक जनालाई समातेर जेलमा लाने गरेको छ । सबैले ओठे प्रतिबद्धता जाहेर गरिरहेका छन् । तर मैले व्यक्तिगत रूपमा गाँजा खेतीलाई कानुनको दायरामा लिएर आएर यसलाई खुल्ला गर्नुपर्छ भनेका छौँ । अहिले जति पनि गाँजा बोकेकै अभियोगमा कारागारमा हुनुहुन्छ, उहाँहरूलाई उच्च सम्मानका साथ रिहा गर्नुपर्छ भनेर मैले आवाज उठाएको छु ।’

साथै उनले आफू निर्वाचित भएमा यस एजेन्डालाई संसदमा पेश गर्ने प्रतिबद्धता जनाए । यदि कथम–कदाचित निर्वाचित नभएको खण्डमा पनि आजीवन यस एजेन्डालाई नछाड्ने विष्टले स्पष्ट पारे । उनले पार्टी र आफूलेले अगाडि सारेको दुईवटा एजेण्डा प्रस्तुत गरेका थिए ।

एजेन्डामा के छ ?
पहिलो एजेन्डा पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टीको एजेन्डा नै मेरो पहिलो एजेन्डा हो । दोस्रो एजेन्डा म उम्मेदवार भएको कारणले यो ठाउँ, मकवानपुर क्षेत्र नम्बर २ का जनताको एजेन्डा नै मेरो एजेन्डा हो।

पहिलो एजेन्डाको रूपमा पार्टीले अगाडि सारेको, अहिले देश जसरी कङ्गाल बनेको छ, जसरी भद्रगोलमा गएको छ, देश यो स्थितिमा पुग्नुमा मुख्य गरी कुशासन र भ्रष्टाचार हो भनेर हाम्रो पार्टीले ठहर गरेको छ । ‘भ्रष्टाचार र कुशासनको एउटै लक्ष्य अन्त्य, प्रगतिशील लोकतान्त्रिक पार्टीको लक्ष्य’ भनेर हामीले नारा नै तय गरेका छौँ । हामी सुशासन चाहन्छौँ। हाम्रो पार्टीले मुख्य रूपमा सुशासनलाई मुख्य जोड दिएको छ। सुशासन कायम भयो भने मात्रै यो देश अगाडि बढ्न सक्छ, जनताको समृद्धि हुन सक्छ । र, हामी आम जनताले अपेक्षा अनुसारको शासन व्यवस्था हुन्छ भन्ने हाम्रो निष्कर्ष छ । अर्को अहिले जसरी ५ वर्षको बिचमा पटक–पटक सरकार परिवर्तन हुने देखिएको छ, यसको मुख्य जड भनेको शासकीय स्वरूप हो भनेर हाम्रो पार्टीको निष्कर्ष छ । त्यसको लागि प्रत्यक्ष जनताद्वारा निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ । पार्टीको त्यो एजेन्डा मेरो एजेन्डा हो।

यसैगरी मकवानपुर–२ मा म उम्मेदवार बन्दै गर्दा यहाँ यावत् समस्या छन् । अल्पसंख्यक चेपाङहरूदेखि लिएर यहाँ बहुसंख्यक जनजाति तामाङ समुदायहरू यहाँ बसोबास गर्नुहुन्छ। यो क्षेत्रमा ६२ वटा वडा छ । यहाँ मुख्य समस्या हाम्रो किसानहरूले गाँजा खेती गर्नुहुन्छ । गाँजा औषधीय गुणको रूपमा प्रयोग गरिन्छ भनेर वैज्ञानिक रूपमा पुष्टि भएको छ। तर यहाँ  प्रतिबन्धित लागुऔषधको रूपमा जनतालाई दुःख दिने काम भइरहेको छ। राज्यद्वारा यहाँ लगभग हरेक हप्ता एक न एक जनालाई समातेर जेलमा लाने गरेको छ । सबैले ओठे प्रतिबद्धता जाहेर गरिरहेका छन् । तर हामीले र मैले व्यक्तिगत रूपमा गाँजा खेतीलाई कानुनको दायरामा लिएर आएर यसलाई खुल्ला गर्नुपर्छ । अहिले जति पनि गाँजा बोकेकै अभियोगमा कारागारमा हुनुहुन्छ, उहाँहरूलाई उच्च सम्मानका साथ रिहा गर्नुपर्छ भनेर मैले आवाज उठाएको छु। म निर्वाचित हुँदा पनि यो एजेन्डालाई मैले संसदमा पेश गर्नेछु । यदि म कथम–कदाचित निर्वाचित भइनँ भने पनि आजीवन यो एजेन्डालाई मैले छोड्ने छैन।

त्यसै गरेर यहाँका अल्पसंख्यक अन्य चेपाङहरूको जीवनस्तर उठाउने, अन्य यहाँ बसोबास गर्ने दाजुभाइहरूको जीवनस्तर उठाउने सन्दर्भमा मैले एकदम इमानदारपूर्वक ढङ्गले काम गर्नेछु। मकवानपुर जिल्ला बागमती प्रदेशको राजधानी पनि हो तर यहाँका भौतिक पूर्वाधारहरू एकदमै निम्न स्तरको छ। यहाँ धेरै विकास अझै हुन बाँकी छ। यहाँ पहिले स्थापना भएको औद्योगिक क्षेत्र छ, त्यो औद्योगिक क्षेत्रमा पनि धेरै उद्योगहरू बन्द भइरहेका छन्। हाम्रो उद्योगहरूलाई सञ्चालनमा लिएर आएर यहाँको जनतालाई रोजगारीको व्यवस्था गर्ने र जनतालाई समृद्धि दिने एजेन्डा हुनुपर्छ, त्यो मेरो एजेन्डा हो। त्यसकारणले मैले आम जनतामाझ जाँदाखेरि यहाँको जनताको समृद्धिको र यहाँको जनताले शासकहरूबाट खोजेको जुन सुशासनको अपेक्षा छ, त्यो पूरा गर्ने एजेन्डा नै मेरो एजेन्डा हो।

भदौ २३ र २४ गते पछिको विशिष्ट घटनामा हुन गइरहेको यो निर्वाचनलाई हामीले एकदमै सचेतताका साथ प्रयोग गर्नुपर्छ। यस क्षेत्रका लगभग एक लाख ५६ हजार ९०० मतदाता हुनुहुन्छ । तपाईंहरू सबै यो निर्वाचनमा सहभागी भइदिनुस्, आफ्नो मतको उच्चतम रूपमा प्रयोग गरिदिनुस्। तपाईंहरूले अब सुशासन चाहने दललाई छान्नुपर्छ, सुशासन कायम गर्न सक्ने दलको प्रतिनिधिलाई छान्नुपर्छ। परम्परागत दल, परम्परागत नेता, परम्परागत नीति बोकेकाहरूलाई तपाईंहरूले अब पाखा लगाइदिनुपर्छ ।  म जस्तो नयाँ विचार, नयाँ एजेन्डा र नयाँ विषयका साथ तपाईंहरू समक्ष आइरहेकाहरूलाई मतदान गरिदिनुहुन्छ भनेर म आग्रह पनि गर्छु । रातोपाटी बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×