धनगढी न्यूज

म्याग्दीका गाउँ–गाउँ पुगेर मतदातालाई महावीरको अपिल– मन लागे भोट देऊ, नलागे नदेऊ

बागलुङ । यतिबेला म्याग्दीको विकट बस्तीहरूमा चुनावी प्रचारमा छन् महावीर पुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट उम्मेदवार बनेका पुन बिहान सबेरैदेखि राति अबेरसम्म गाउँ बस्तीमै भेटिन्छन् ।

माघ ६ गते मनोनयन दर्ता गरे लगत्तै मतदाता भेटघाटमा लागेका पुन अहिले गाउँ बस्तीमा पुगेर मत मागिरहेका छन् ।

मतदाता भेट्न गाउँ–गाउँ पुगेका महावीरका साथमा न कार्यकर्ता छन्, न त बडेमानका पर्चा वा तामझाम नै छ । उनका साथमा छन् त केवल सवारी चालकसहित एक सहयोगी र केही थान सुशासन स्थापना गर्ने सपना ।

त्यही सपना बोकेर महावीर जनताका घर र बस्तीमा पुगिरहेका छन् । पुनले हरेक दिन सामाजिक सञ्जालमार्फत भोलिपल्टको कार्यक्रमको समय तालिका सार्वजनिक गर्छन् । सोही अनुसार टोल–टोलमा मान्छेहरू जम्मा भएर महावीरलाई पर्खिएर बस्छन् । पुनले हरेक टोलमा एक घण्टाभन्दा बढी समय बिताउँदैनन् ।

उनले एकै दिनमा दर्जनभन्दा बढी बस्तीमा पुगेर मतदाता भेट्छन् । भौगोलिक रूपमा विकट रहेको म्याग्दीमा एक ठाउँदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्छ । यद्यपि पुनले अधिकांश बस्तीमा पुगेर मतदाता भेटिसके । बाँकी बस्तीमा पुग्ने यात्रामै छन् उनी ।

‘मन लागे भोट देऊ, नलागे नदेऊ’

महावीरको हिजोआज बस्ने, खाने र सुत्ने ठेगान छैन । उनी प्रचारको क्रममा जहाँ पुग्छन्, त्यही बास माग्छन् । त्यहीँ खान्छन् र त्यहीँ सुत्छन् । साथमा कार्यकर्ता नभएको हुँदा पुनलाई बास दिने र एक छाक खाना खान दिने धेरै भेटिन्छन् ।

साँझपख नै भोलिपल्टको मतदाता भेट्ने स्थान र समय फेसबुकमा राख्ने हुँदा गाउँ–गाउँका मतदाता जम्मा भएर बस्छन् । जम्मा भएर बसेका मतदाताकहाँ पुगेर महावीरले आफ्ना कुरा सुनाउँछन् । पुनको स्वभाव पनि अलि फरक नै छ । उनी हरेक नागरिकसँग झुकेर बोल्दैनन् । ठाडो स्वभावका उनी कसैलाई पनि ‘मलाई मत देउ’ भन्दैनन् । बरु ‘मन लागे भोट देऊ, नलागे नदेऊ’ भन्छन् ।

 

पुनलाई भेट्न जम्मा भएकाहरूले मत दिने आवश्वासन मात्रै दिँदैनन् । धेरै थोरै आर्थिक सहयोगसमेत गर्छन् । कतिपय ठाउँमा त पुनलाई पैसाकै माला लगाइदिने गर्छन् भने कतिपय गाउँमा लाख–लाख रकमनै थमाइदिने गरेका छन् । यद्यपि पुनले सहयोग रकम कति सङ्कलन भयो भन्ने सार्वजनिक गरेका छैनन् ।

शिक्षा प्रणालीमा सुधार ल्याउने धोको

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका महावीर पुन माघ ५ गतेसम्म चुनाव लड्ने/नलड्ने निश्चित थिएन । मन्त्रीसमेत अनिच्छाले भएको बताउँदै आएका महावीरले एकाएक मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी मनोनयन दर्ता गर्दा धेरैलाई आश्चर्य लागेको थियो ।

पुन अहिले सार्वजनिक शिक्षा सुधार्ने विषयलाई प्रमुख एजेण्डा बनाएर प्रचारमा छन् । शिक्षामा भएको भ्रष्टाचार, अनियमितता, मनपरीतन्त्र र राजनीतिकरणलाई अन्त्य गर्न चाहेको पुनले बताए ।

मन्त्री हुँदा शिक्षासम्बन्धी ऐन तथा नियमावली ल्याउन असफल भएको भन्दै अब त्यसलाई पूरा गर्न संसदमा पुग्नु पर्ने हुँदा चुनावमा होमिएको उनले सुनाए ।

 

पुनले गत पुस महिनामै शिक्षा नियमावली, विश्वविद्यालयसम्बन्धी ऐन, उच्च शिक्षा ऐन र अनुसन्धान तथा नवप्रवर्तन कोष सम्बन्धी ऐन ल्याउन खोजेका थिए । आफू संलग्न सरकारबाटै असहयोग भएको हुँदा ऐन ल्याउन नसकेको उनले सुनाए ।

पुनले भने, ‘मैले शिक्षामन्त्री भएर तीन वटा कानुन ल्याउन खोजेको थिएँँ । शिक्षामा राजनीतीकरण कम गर्नको लागि, अर्को मनपरीतन्त्र कम गर्नको लागि र शिक्षाको सुधारको लागि तीन वटा कानुन ल्याउन खोजेको थिएँ, तर कसैबाट सहयोग पाइनँ । अहिले चैँ समयले दिएन ।’

उनले चुनाव लडेर आफैँ सांसद भएर नगएसम्म कानुन सुधार्न नसक्ने देखेपछि मन्त्री पद त्यागेर चुनाव लड्न गाउँ फर्किएको सुनाए ।

मत फेर्ने ‘मुड’मा देखिए मतदाता

म्याग्दीको विभिन्न क्षेत्रका मतदाता यस पटकको निर्वाचनमा मत बदल्ने ‘मुड’मा देखिए । पटक–पटक मत दिएर संसदमा पठाएका नेताले काम नगरेको उनीहरूको गुनासो छ । बेनी नगरपालिका–७ की सायजा बेगमले चुनावका बेला भूमिहीन, गरिब र सुकुमबासीका पक्षमा काम गर्ने बाचा गरेका नेताले सांसद बनेपछि फर्किएर नआएको बताइन् ।

सायजा बेगम

‘चुनावमा भोट माग्न आउँछन् । भोट माग्न आउँदा रोजगार सिर्जना गर्छौं, लालपुर्जा दिलाउने छौँ भन्छन् तर चुनाव जितेपछि फर्किएर पनि आउँदैनन्’ उनले भनिन्, ‘तिनै गफाडीलाई त अब किन मत दिनु पर्‍यो ?’

मालिका गाउँपालिका–५ दाङा की ६२ वर्षीया सूर्यकुमारी सिउठानीले यसअघि जिताएका प्रतिनिधिहरूले जनचाहना अनुसार काम नगरेको गुनासो पोखिन् । गाउँमा व्यवस्थित सडक, खानेपानी, स्वास्थ्य र गुणस्तरीय शिक्षाको अभाव रहेको हुँदा त्यसतर्फ ध्यान नदिएको उनको भनाइ छ । आगामी निर्वाचनमा गाउँमा एक पटक नयाँलाई मत दिने सल्लाह भएको उनले सुनाइन् ।

सूर्यकुमारी सिउठानी

सिउठानीले भनिन्, ‘पहिले त झण्डा बोकेरै प्रचारमा हिँडियो । भोट हालेर पनि धेरैलाई जिताइयो । तर उनीहरूले जनताको काम गर्न सकेनन् । चुनावमा गरेको बाचा पनि बिर्सिए । अब हामीले पुरानालाई जिताएर हुँदैन । नयाँलाई अवसर दिनुपर्छ ।’

बेनी–६, अर्थुङ्गेका ८० वर्षीय सम्मरबहादुर केसीले गाउँमा रोजगार नहुँदा धेरै युवा परदेशिनु परेको सुनाए । आफू धेरै पटक निर्वाचनमा सहभागी भएर नेतालाई जिताएको सुनाउँदै उनले रोजगारको अवसर नहुँदा बसाइसराइ र विदेश पलायनले गाउँ रित्तिन थालेको बताए ।

सम्मरबहादुर केसी

‘हरेक चुनावमा रोजगार स्थापना गर्छौं भन्छन् । गाउँमा मान्छे सकिन लागे । तर त्यो रोजगार अझै आएन । गाउँमा मान्छे सकिएपछि आउने रोजगार किन चाहियो ?’ केसीले भने, ‘हामी बुढाबुढी भए पनि हाम्रा सन्ततिलाई राम्रो सुविधा दिए हुन्थ्यो, अब पुराना नेताबाट पार लाग्ने देखिएन ।’रातोपाटी बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×