अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मानव निर्मित सबैभन्दा महँगो वस्तु हो र यो २५ वर्षदेखि निरन्तर पृथ्वीको कक्षमा घुमिरहेको छ। यसको २५ वर्षे इतिहासलाई यहाँ २५ वटा अङ्कहरूमार्फत प्रस्तुत गरिएको छ।
पृथ्वीबाट करिब ४०० किलोमिटर (२५० माइल) माथि परिक्रमा गरिरहेको आईएसएस मानव जातिको सबैभन्दा महत्त्वाकांक्षी इन्जिनियरिङ परियोजनाहरूमध्ये एक हो। पहिलो ‘एक्सपीडिसन-१’ मिसनदेखि अहिलेसम्म २८० भन्दा बढी अन्तरिक्ष यात्रीहरूले यसको भ्रमण गरिसकेका छन्। यदि तपाईंको जन्म २ नोभेम्बर २००० पछि भएको हो भने, तपाईंको जीवनको हरेक पल अन्तरिक्षमा कोही न कोही मानिस बसिरहेकै छन्।
बिजुली आपूर्तिदेखि बस्ने ठाउँसम्म र वाद्ययन्त्रदेखि शौचालयसम्मका कुरा समेटेर आईएसएसको २५ वर्षलाई यहाँ २५ अङ्कमा चर्चा गरिएको छ:
२७: सबैभन्दा पुरानो मोड्युलको उमेर (वर्ष)
आईएसएसको पहिलो भाग ‘जार्या’ सन् १९९८ को एक निरस नोभेम्बर बिहानीमा काजाकिस्तानको बाइकोनुर कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको थियो। त्यसबेला यो परियोजना ढिलाइ र बढ्दो लागतको समस्यामा फसेको थियो। यो अमेरिकाको रद्द गरिएको ‘फ्रिडम’ र रुसको ‘मिर’ स्टेसनको सम्मिश्रण थियो।
३: पहिलो मिसन ‘एक्सपीडिसन-१’ का सदस्यहरू
सन् २००० को नोभेम्बरमा जब बिल सेफर्ड, सेर्गेई क्रिकालेभ र युरी गिडजेन्को आईएसएसमा पुगे, तब जम्मा तीनवटा मोड्युल मात्र थिए। उनीहरूले ५ महिना त्यही साँघुरो ठाउँमा बिताए। आजभोलि, सामान्यतया एकपटकमा सातजना अन्तरिक्ष यात्रीहरू त्यहाँ हुन्छन्।

४२: जडानका लागि गरिएका उडानहरू
आईएसएसमा १६ देखि २० वटा बस्न मिल्ने कोठाहरू (मोड्युल) र ८ वटा ठूला सोलार प्यानलहरू छन्। यी सबैलाई अन्तरिक्षमा जोड्न धेरै पटक उडान भर्नुपर्यो। अमेरिकाको स्पेस सटल र यसको रोबोटिक हातले यी भागहरू जोड्न ठूलो मद्दत गर्यो। रुस, अमेरिका, युरोप र जापानमा बनेका भागहरू अन्तरिक्षमा अचम्मसँग फिट भए।
३८८: बस्न योग्य आयतन (घन मिटर)
अन्तरिक्ष यात्रीहरूका लागि उपलब्ध ठाउँ ६ कोठाको घर बराबर छ। गुरुत्वाकर्षण नहुने भएकाले भुइँ, भित्ता र सिलिङ सबै प्रयोग गर्न सकिन्छ। त्यसैले भित्री भागका सबै सतहहरू उपकरण र सामग्रीले ढाकिएका हुन्छन्।
२: व्यायाम (दैनिक घण्टा)
लामो समय अन्तरिक्षमा बस्दा तौलविहीनताले मांसपेशी र हड्डी कमजोर बनाउँछ। पृथ्वीमा फर्कदा स्वास्थ्य समस्या नहोस् भनेर यात्रीहरूले दिनको दुई घण्टा व्यायाम गर्नुपर्छ। सन् २०१६ मा बेलायती यात्री टिम पिकले अन्तरिक्षमै ट्रेडमिलमा दौडेर म्याराथन पूरा गरेका थिए।
९८: सास, पसिना र पिसाबको पुनःप्रशोधन (प्रतिशत)
अन्तरिक्षमा एउटा भनाइ छ, ‘आजको पिसाब भोलिको कफी हो।’ त्यहाँको पानी प्रशोधन प्रणाली यति उन्नत छ कि यसले ९८% पानी रिकभर गर्छ। यसले हावामा भएको पसिना र बाफ तथा शौचालयको पिसाबलाई पिउन योग्य पानीमा बदल्छ।
४,४००: प्रकाशित अनुसन्धान पत्रहरू
यात्रीहरूले आफ्नो धेरैजसो समय प्रयोगहरू गर्नमै बिताउँछन्। यहाँ चिकित्सा, नयाँ सामग्री र औषधिसम्बन्धी अनुसन्धान गरिन्छ। केही निजी कम्पनीहरूले अन्तरिक्षमा विशेष सामग्रीहरू उत्पादन गर्न अनुसन्धान गरिरहेका छन्।
७०: सबैभन्दा पाको अन्तरिक्ष यात्री (वर्ष)
सुरुमा अन्तरिक्ष यात्री हुन युवा हुनुपर्थ्यो, तर अहिले अनुभव महत्त्वपूर्ण मानिन्छ। हालै ७० औँ जन्मदिनमा पृथ्वी फर्किएका डन पेटिट आईएसएसमा बस्ने सबैभन्दा पाका व्यक्ति हुन्। स्मरण रहोस्, जोन ग्लेन ७७ वर्षको उमेरमा दोस्रो पटक अन्तरिक्षमा गएका थिए, तर आईएसएसमा होइन।

३७१: सबैभन्दा लामो मिसन (दिन)
६ महिनाभन्दा लामो मिसन अहिले सामान्य भइसक्यो। नासाका फ्रान्क रुबियोले सेप्टेम्बर २०२३ मा फर्कनुअघि लगातार ३७१ दिन आईएसएस मा बिताए। (रुसको ‘मिर’ स्टेसनमा ४३७ दिन बिताएको भ्यालेरी पोल्याकोभको रेकर्ड भने अझै कायम छ)।
२५: कुपोला सिसाको मोटाइ (मिलिमिटर)
आईएसएसमा रहेको ‘कुपोला’ झ्याल पृथ्वी हेर्नका लागि सबैभन्दा लोकप्रिय ठाउँ हो। यहाँबाट दृश्य हेर्दा काम गर्न भुल्ने डरले यात्रीहरूले अलार्म लगाउने गर्छन्।
१: बजाइएको डिजेरिडु
धेरै यात्रीहरूले वाद्ययन्त्रहरू (जस्तै गितार, सेक्सोफोन) अन्तरिक्षमा लगेका छन्। तर डन पेटिटले त्यहाँको भ्याकुम क्लिनरलाई ‘डिजेरिडु’ (अस्ट्रेलियन बाजा) मा परिणत गरेर बजाएका थिए, जुन विज्ञानको प्रयोग पनि थियो।
२११: स्लिपिङ ब्यागको लम्बाइ (सेन्टिमिटर)
सुत्नका लागि यात्रीहरूलाई फोन बुथ जत्रो सानो निजी ठाउँ र भित्तामा बाँधिएको स्लिपिङ ब्याग दिइन्छ। पंखाको आवाज र उज्यालोका कारण यहाँ सुत्नु चुनौतीपूर्ण हुन्छ।
४: शौचालय संख्या
एकपटक क्रिस ह्याडफिल्डले बिग्रिएको शौचालय मर्मत गर्नुलाई आफ्नो ६ महिनाको यात्राको सबैभन्दा गर्वको क्षण मानेका थिए। अहिले त्यहाँ ४ वटा शौचालय छन्।

५: पकाइएका चकलेट चिप कुकिज्
अन्तरिक्षको खानामा धेरै सुधार आएको छ। सन् २०१९ मा अन्तरिक्ष यात्रीहरूले ५ वटा कुकिज बेक गरेका थिए, तर तिनलाई खान दिइएन; तिनलाई परीक्षणका लागि पृथ्वीमा फिर्ता ल्याइयो।
४०: अन्तरिक्षको फोहोर छल्न गरिएका प्रयास
अन्तरिक्षमा करिब २८ हजार वटा फोहोरका टुक्राहरू (स्पेस जंक) घुमिरहेका छन्। आईएसएसले ठूलो क्षति ब्यहोर्नु नपरे पनि साना टुक्राहरू ठोक्किरहन्छन्। ‘ग्राभिटी’ फिल्ममा देखाइएको जस्तो जोखिम सधैँ रहन्छ।
९: सबैभन्दा लामो स्पेसवाक (घण्टा)
सन् १९९८ देखि अहिलेसम्म २७० भन्दा बढी पटक यात्रीहरू मर्मत सम्भारका लागि यान बाहिर निस्केका छन् । यसलाई स्पेसवाक पनि भनिन्छ । सन् २००१ मा सुसन हेल्म्स र जिम भोसले ८ घण्टा ५६ मिनेट लामो स्पेसवाक गरेका थिए।
७: क्यानाडाआर्म-२ का जोर्नीहरू
क्यानाडाले बनाएको यो रोबोटिक हात आईएसएसको महत्त्वपूर्ण हिस्सा हो। यसले सामान सार्न र मानिसलाई बोक्न मद्दत गर्छ।

१३: अन्तरिक्ष पर्यटक
अहिले सरकारी यात्री मात्र होइन, १३ जना निजी व्यक्तिहरूले पनि आईएसएसको भ्रमण गरिसकेका छन्। नासाले बस्नका लागि एक रातको करिब ३५ हजार डलर लिने गरेको बताइएको छ।
१६: २४ घण्टामा लगाउने परिक्रमा
२८ हजार किमि प्रतिघण्टाको गतिमा हिँड्ने भएकाले आईएसएसका यात्रीहरूले हरेक दिन १६ पटक सूर्योदय र १६ पटक सूर्यास्त देख्छन्।
५.५ करोड: सबैभन्दा सस्तो उडान (डलरमा)
पहिले स्पेस सटलको उडान लागत १.५ अर्ब डलर पर्थ्यो। अहिले स्पेसएक्सको ड्रागनमा एक सिटको मूल्य करिब ५.५ करोड डलर पर्छ।
२८६: सुनिता र बुचको ‘आठ दिने’ मिसनको अवधि (दिन)

बोइङको स्टारलाइनरमा समस्या आएपछि ८ दिनका लागि गएका सुनिता विलियम्स र बुच विल्मोरले करिब १० महिना (२८६ दिन) अन्तरिक्षमा बिताउनुपर्यो। उनीहरू मार्च २०२५ मा मात्र पृथ्वी फर्किए।
७,३५,०००: उत्पादित बिजुली (किलोवाट/वर्ष)
आईएसएसको सोलार प्यानलहरू एअरबस ए३८० जहाजको पखेटाभन्दा लामा छन्। यसले ब्याट्रीहरू चार्ज गर्छ र स्टेसनलाई चाहिने सम्पूर्ण ऊर्जा दिन्छ।

३०,००,०००: सफ्टवेयर कोडका लाइनहरू
चन्द्रमामा पुग्दा प्रयोग भएको कम्प्युटर भन्दा अहिलेको फोन धेरै शक्तिशाली छ। आईएसएस चलाउन लाखौँ लाइनका कोडहरू र धेरै कम्प्युटरहरू (पुरानोदेखि नयाँ ट्याब्लेटसम्म) प्रयोग हुन्छन्।
४,८६,०००: यानमा रहेका सामानहरू
स्टेसनमा रहेका हरेक सामान (ट्वाइलेट पेपरदेखि ठूला उपकरणसम्म) मा बारकोड लगाइएको हुन्छ ताकि ती नहराउन्। नासाको मिसन कन्ट्रोलले यी सबैको हिसाब राख्छ।
१५० अर्ब: कुल लागत (डलरमा)
यसको यकिन हिसाब गर्न गाह्रो छ, तर नासाले मात्रै यसको सञ्चालनका लागि वर्षको ३ देखि ४ अर्ब डलर खर्च गर्छ। के यो लगानी सही थियो ? यसको निर्णय तपाईं आफैं गर्नुहोस्।रातोपाटी बाट साभार






