धनगढी न्यूज

ओली नेतृत्वको सरकार असफल भएको जसपा नेपालको निष्कर्ष

जनता समाजवादी पार्टी नेपालले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकार असफल भएको निष्कर्ष निकालेको छ।

सोमबार पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय समिति बैठकले सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनः विचार गरी निर्णय गर्न संघीय संसदीय दललाई निर्देशन दिएको छ।‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनः विचार गरी निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ,’ बैठकपछि प्रवक्ता मनिष सुमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बैठकले आगामी भदौ २५, २६ र २७ गते गर्ने पार्टी प्रदेश अधिवेशनका लागि पार्टीको प्रदेश निर्वाचनसम्बन्धी निर्देशिका २०८२ सर्वसम्मतिले पारित गरी जारी गरिएको प्रवक्ता सुमनले बताए।आगामी असार २८ गते हुने दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यक परिसंघको राष्ट्रिय भेला एवं अन्तरक्रिया कार्यक्रममा पार्टीको तर्फबाट सहयोग र समन्वयका लागि पार्टी उपाध्यक्ष विधुत बज्राचार्यको संयोजकत्वमा सांसद रेखा यादव, राजकुमार राई, लाक्पा शेर्पा, तारा विश्वकर्मा, खालिद सिद्दिकी र पेशल ढकाल सम्मिलित कार्यदल गठन गरिएको पनि उनले बताए।
सप्तरीको राजविराज नगर पालिकामा हाल घटेका अप्रिय घटना भएको भन्दै पार्टीले उक्त घटनामा संलग्न रहेका पार्टी सदस्यहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको पनि उनले बताए।

विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरी पार्टीमा क्रियाशील रहेकामध्ये शशि कपुर मियां (पर्सा) श्री करिमा वेगम (पर्सा) सुधीरनाथ पान्डे (पर्सा) कैलाश गुरुङ (रूपन्देही) र निलम यादव (रूपन्देही) लाई पार्टी केन्द्रीय समितीमा मनोनित गरिएको पनि उनले बताए।सेतोपती बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×