धनगढी न्यूज

कर्णालीमा १९ अर्बभन्दा बढी विकास बजेट, ७ महिनामा १ अर्ब ८८ करोडमात्रै कार्यान्वयन

सुर्खेत । पहिलो अर्धवार्षिक समीक्षा पार गरिसक्दा पनि कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनमा प्रगति गर्न सकेको छैन ।

प्रदेश लेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको माघ मसान्तसम्मको बजेट कार्यान्वयन तथ्याङ्क अनुसार हालसम्म १६.१४ प्रतिशत अर्थात् ५ अर्ब ३२ करोड ४० लाख ५६ हजार बराबर बजेट खर्च हुन सकेको छ ।

जबकि चालु आर्थिक वर्ष (०८२/०८३) का लागि सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको कुल बजेट ल्याएको थियो । सरकारसँग अझै २७ अर्ब ६७ करोड बराबर बजेट मौज्दात छ ।

सरकारले अर्धवार्षिक समीक्षा अवधि अर्थात् पुस मसान्तसम्म ४ अर्ब ५३ करोड ३४ लाख ३३ हजार २८३ रुपैयाँ अर्थात् कुल बजेटको १३.७४ प्रतिशत खर्च गरेको थियो ।

माघ महिनाभर जम्मा २.४ प्रतिशत रकम खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाले बताए ।

सरकारको माघ मसान्तसम्म कुल बजेट खर्चको विवरण

sr

  • पुँजीगत बजेट खर्चको कन्तबिजोग

कर्णालीमा यो वर्ष विकास (पुँजीगत) बजेट कार्यान्वयनको गति अझ दयनीय छ । ७ महिनासम्म कुल बजेटको ९.४४ प्रतिशत अर्थात् १ अर्ब ८८ करोडमात्रै कार्यान्वयनमा आएको छ, जुन विगत दुई आर्थिक वर्ष यताकै कमजोर हो ।

अर्धवार्षिक समीक्षामा मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयनलाई गति दिन सबै मन्त्री, सचिवदेखि कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका थिए । यद्यपि विकास बजेट कार्यान्वयनमा सरकारले लय समात्न सकेको छैन ।

पुस मसान्त अर्थात् अर्धवार्षिक समीक्षा अवधिससम्म ७.९० प्रतिशत अर्थात् १ अर्ब ५७ करोड बजेट कार्यान्वयन गरेको सरकारले माघ महिनाभर जम्मा १.४४ प्रतिशत अर्थात् ३१ करोडमात्रै कार्यान्वयन गर्न सकेको छ ।

चालु आर्थिक वर्ष विकास अर्थात् पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख बजेट विनियोजन गरिएको छ । ७ महिनासम्म २ अर्ब पनि विकास बजेट कार्यान्वयन गर्न नसकेको सरकारले बाँकी ५ महिनामा कति खर्च गर्ला भन्ने चासो बढेको छ ।

‘यो वर्ष सुरुमै जेनजी आन्दोलन भयो, जसका कारण आयोजनाहरूको समयमै ठेक्का लाग्न सकेन,’ अर्थ मन्त्रालयका एक कर्मचारीले भने, ‘त्यसपछि लामो समयसम्म सरकार लयमा फर्कन सकेन ।’

यही अवधिमा चालु खर्च भने बढेर २७.२४ प्रतिशत अर्थात् ३ अर्ब २९ करोड पुगेको छ । पुस मसान्तसम्म २३ प्रतिशत प्रशासनिक खर्च रहेकोमा माघ महिनाभर बढेर २७ प्रतिशतमा पुगेको हो ।

  • प्रतिपक्ष भन्छ– सरकार असफल भइसक्यो

प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भने बजेट कार्यान्वयनमा सरकार पूर्णतः असफल बनेको बताएको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले भने, ‘उहाँहरूले गम्भीर उदासीनाता प्रकट गरिरहनुभएको छ ।’

बजेट कार्यान्वयनको अवस्था विगतका वर्षभन्दा कमजोर रहेको जिसीको भनाइ छ । बन्नुपर्ने ऐन, नियमावलीदेखि नीति, विधिहरू बन्न नसकेको तर्क गर्दै उनले कांग्रेस—एमाले सरकार सञ्चालनमा पूर्ण रूपमा असक्षम भइसकेको बताए ।

यता, मुख्यमन्त्री यामलाल कँडेल भने पछिल्लो समय सरकारभन्दा पनि पार्टीका गतिविधिमा बढी सामेल हुने गरेका छन् । उनले चुनाव प्रचारमा बढी समय खर्चिन थालेपछि प्रदेश सरकारको भूमिका थप कमजोर बनेको सरोकारवाला बताउँछन् ।रातो पाटी बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×