धनगढी न्यूज

गोवाको नाइट क्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु

भारतको उत्तरी गोवाको अर्पोरास्थित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ।

राजधानी पनजीबाट २५ किलोमिटरको दूरीमा रहेको बर्च बाई रोमियो लेन नाम गरेको नाइट क्लबमा मध्यरातमा भीषण आगलागी हुँदा २३ जनाको मृत्यु भएको भारतीय पत्रिका हिन्दस्तान टाइम्सले जनाएको छ।

गोवाका प्रहरी प्रमुख आलोक कुमारका अनुसार ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी सुरु भएको थियो। आगलागीका कारण क्लबभित्र रहेका मानिसहरू भाग्न नपाउँदै धुवाँ र आगोको लप्कामा परेका थिए।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये अधिकांश क्लबका किचनमा काम गर्ने कर्मचारी रहेको जानकारी दिएका छन्। मृतकमध्ये तीनजना महिला रहेका छन् भने तीन–चार जना पर्यटक पनि रहेको उनले बताएका छन्।

मुख्यमन्त्री सावन्तका अनुसार २३ मृतकमध्ये तीन जनाको जलेर मृत्यु भएको हो भने बाँकीको मृत्यु निसास्सिएर भएको हो।

प्रारम्भिक अनुसन्धानबाट क्लबले अग्नि सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको खुलेको उनले बताए।

उनले सुरक्षाका मापदण्ड विपरीत क्लब सञ्चालन गर्न अनुमति दिने व्यवस्थापन र सरकारी अधिकारीमाथि पनि कारबाही गरिने स्पष्ट पारेका छन्। घटनालाई पर्यटकीय सिजनको बीचमा भएको दुर्भाग्यपूर्ण घटना भन्दै मुख्यमन्त्रीले विस्तृत छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने प्रतिवद्धता जनाएका छन्।

प्रहरीका अनुसार सबै २३ शवहरू बरामद गरी बाम्बोलिमस्थित सरकारी मेडिकल कलेज पठाइएको छ।

घाइतेलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ भने रातभर स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी खटिएका थिए।सेतोपाटी बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×