धनगढी न्यूज

ट्रम्प र पुटिनको ‘ब्रोमान्स’ संकटमा!

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘बेस्ट फ्रेन्ड’ भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही दिनयता आफ्ना मित्रसँग रूष्ट देखिन्छन्।

पुटिनले युद्ध रोक्न अस्वीकार गर्दै युक्रेनमाथि आक्रमण तीव्र बनाएपछि दिक्क भएका ट्रम्पले केही दिनयता उनीविरूद्ध कडा अभिव्यक्ति दिन थालेका छन्। पुटिनले युक्रेनी सहरहरूमा मिसाइल र ड्रोन प्रहार गरेर अनावश्यक रूपमा मान्छे मारिरहेको औंल्याउँदै ट्रम्पले गत आइतबार उनलाई ‘पागल’ समेत भने।

‘उनले धेरै मानिस मारिरहेका छन्,’ ट्रम्पले भने, ‘मलाई थाहा छैन, उनलाई के भएको छ।’

पुटिनले त्यसपछि पनि युक्रेनमाथि प्रहार गर्न नरोकेपछि ट्रम्पले सोमबार भने, ‘पुटिनले के महसुस गरेका छैनन् भने म नभएको भए रूसलाई धेरै नराम्रो भइसक्थ्यो। मेरो मतलब अत्यन्तै नराम्रो! उनी आगोसँग खेलिरहेका छन्।’पुटिनसँग ट्रम्पको मित्रता उनी राष्ट्रपति हुनुअघिदेखिको हो। उनीहरूको यो सम्बन्धलाई पुरूषहरूबीचको घनिष्ठ मित्रता जनाउने ‘ब्रोमान्स’ भनिन्छ।

राजनीतिमा आउनुअघि ट्रम्प रियल स्टेट व्यापारी र रियालिटी टेलिभिजन स्टार थिए। पुटिनसँग उनको सम्बन्ध त्यही बेला सुरू भइसकेको थियो।ट्रम्प मिस युनिभर्स प्रतियोगिता पनि आयोजना गर्थे। सन् २०१३ नोभेम्बरमा मस्कोमा आयोजित मिस युनिभर्स प्रतियोगिताका लागि ट्रम्पले पुटिनलाई व्यक्तिगत रूपमै निमन्त्रणा दिएका थिए। उनले त्यसबारे ट्विट गर्दै निमन्त्रणा स्वीकार गरे पुटिन आफ्नो ‘बेस्ट फ्रेन्ड’ हुने घोषणा गरेका थिए।कार्यव्यस्तताका कारण पुटिन उक्त प्रतियोगिता हेर्न गएनन्। तैपनि उनले एक वरिष्ठ अधिकारीका हातमा ट्रम्पका लागि कोसेलीहरू पठाएका थिए।

पुटिन मात्र होइन, रूसप्रति नै ट्रम्पको आकर्षण धेरै पुरानो हो।

सन् १९८८ मा तत्कालीन सोभियत संघका राष्ट्रपति मिखायल गोर्वाचोभ अमेरिका भ्रमण क्रममा न्यू योर्क गएका थिए। त्यही बेला एक व्यक्ति गोर्वाचोभ बनेर ट्रम्प टावर अगाडि पुगे। गोर्वाचोभजस्तै देखिने व्यक्तिहरूको प्रतियोगिता नै जितेका रोनाल्ड न्याप भन्ने ती कलाकारलाई ट्रम्पले पनि साँच्चै गोर्वाचोभ नै ठाने। उनले आफ्नो गगनचुम्बी भवनबाट सडकमै ओर्लेर ती व्यक्तिको स्वागत गरेका थिए।त्यति बेला सोभियत नेतासँग भेट्ने इच्छा पूरा नभए पनि सोभियत संघ टुक्रिएपछि रूसका सबभन्दा शक्तिशाली नेता पुटिनसँग भने ट्रम्पको घनिष्ठ सम्बन्ध बन्यो।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा कयौंपटक पुटिनलाई भेटेका थिए। एउटा कार्यक्रममा त उनले सार्वजनिक रूपमै आफूलाई ‘अमेरिकी जासुसी निकायभन्दा पुटिनले भनेका कुरा पत्यार लाग्ने’ बताए।पुटिनले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्दा पनि ट्रम्पले उनलाई ‘जिनियस’ भन्दै उक्त कदमको तारिफ गरेका थिए। पछि दोस्रो कार्यकालका लागि चुनाव लड्ने क्रममा उनले आफू राष्ट्रपति भइदिएको भए पुटिनले युक्रेनमाथि आक्रमण नै गर्दैन थिए भनेर दाबी गरे। आफूले चुनाव जिते २४ घन्टाभित्रै रूस र युक्रेनको युद्ध रोक्ने घोषणा पनि गरे।

दोस्रो कार्यकाल सुरू गरेपछि उनले यो युद्धका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दोष दिएका थिए। फेब्रुअरी अन्त्यमा उनले र उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई ह्वाइट हाउसमै डाकेर बेइज्जत हुने गरी हप्काए। अघिल्ला राष्ट्रपति जो बाइडेनले दिने निर्णय गरिसकेको सैन्य सहायतासमेत केही समयका लागि रोके। युक्रेनी सेनालाई दिँदै आएको रूसको खुफिया सूचना पनि बन्द गराए।यसरी ट्रम्पले रूसका सर्त मानेर भए पनि युद्ध रोक्न युक्रेनलाई व्यापक दबाब दिए। उनकै पहलमा रूस-युक्रेन युद्धविरामको निम्ति अमेरिकाले मध्यस्थता गरिरहेको छ। ट्रम्पले सार्वजनिक र निजी रूपमा युद्धविरामका लागि दुवै देशलाई दबाब दिँदै आएका छन्।

अमेरिकाकै मध्यस्थतामा साउदी अरबमा अमेरिकी अधिकारीहरूले रूसी र युक्रेनी अधिकारीसँग छुट्टाछुट्टै वार्ता गरेका थिए। ती वार्ताबाट हल ननिस्किएपछि मध्यपूर्व हेर्ने ट्रम्पका विशेष दूत स्टिभ विटकफले पटक-पटक पुटिनसँग लामा छलफल गरेर सहमतिको प्रयत्न गरेका थिए। तर त्यो प्रयत्न पनि सफल हुन सकेन।

अमेरिकाले राखेको ३० दिनको अस्थायी युद्धविराम प्रस्ताव युक्रेनले सहजै स्वीकार गरे पनि पुटिनले सहमति दिएका थिएनन्। उनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सीमित गर्नुपर्ने र अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्र नभएर आफ्नो नियन्त्रणमा नभएका भागको पनि स्वामित्व हुनुपर्ने माग गरिरहेका छन्।ट्रम्पले पुटिनसँग मे १९ मा फोनमा कुरा गरेपछि युद्ध रोकिने धेरैले अपेक्षा गरेका थिए। तर दुई घन्टा फोनमा कुरा गरे पनि ट्रम्पले पुटिनलाई मनाउन सकेनन्। रूसले युक्रेनमा तत्काल युद्धविराम घोषणा गर्नुपर्ने आफ्नो मागबाट ट्रम्प पछि हटे।

युद्ध रोक्ने कदम चाल्नुको साटो पुटिनले उल्टै युक्रेनमाथिको आक्रमण झन् तीव्र बनाएका छन्। त्यही भएर ट्रम्पले पछिल्ला दिनमा पुटिनबारे कडा टिप्पणी गर्न थालेका छन्। पुटिनले वार्ता गरेजस्तो देखाएर आफूलाई खेलाइरहेको भन्दै ट्रम्पले रूसमाथि नयाँ प्रतिबन्ध लगाउने छलफलसमेत थालेका छन्।

पछिल्लो समय ट्रम्प निकट रिपब्लिकन पार्टीका सिनेटर लिन्डसे ग्राहमले विपक्षी डेमोक्र्याटिक पार्टीका सिनेटरसँग मिलेर रूसमाथि कडा प्रतिबन्ध लगाउने विधेयक नै तयार पारेका छन्। उक्त विधेयकमा १०० जना सांसद भएको अमेरिकी सिनेटका ८० भन्दा बढी सदस्यको समर्थन रहेको मानिन्छ। त्यो भनेको राष्ट्रपति ट्रम्पले भिटो लगाउन नसक्ने संख्या हो।

सोमबार ‘द वाल स्ट्रिट जर्नल’ मा सम्पादकलाई चिठी लेख्दै ग्राहमले उक्त विधेयकलाई ८२ जनाले सह-प्रायोजन गर्ने दाबी गरे। उनले पुटिनलाई ‘मस्कोमा रहेका गुण्डा’ भनेका छन्।सिनेटबाट पास भएर प्रतिनिधिसभा पुग्यो भने त्यहाँ पनि विधेयक सजिलै पास हुने देखिन्छ। उक्त विधेयकले रूसी तेल किन्ने देशलाई ५०० प्रतिशत भन्सार महसुल लगाउने प्रस्ताव गरेको छ।

अमेरिका लगायत पश्चिमा राष्ट्रले प्रतिबन्ध लगाए पनि चीन र भारतले भने ठूलो परिमाणमा रूसी तेल किनेर पुटिनलाई युद्ध धान्ने खर्च जोहो गरिरहेका छन्। चीन र भारतले मात्र लगभग ८० प्रतिशत रूसी तेल किनिरहेको मानिन्छ।अमेरिकाले संसदबाट कानुन नै बनाएर रूसी तेल किन्ने देशबाट आउने वस्तुलाई ५०० प्रतिशत भन्सार लगाए भने रूसी तेलको बिक्रीमा प्रभाव पर्नेछ। ट्रम्पले आफ्नो उत्पादनमा उच्च भन्सार नलगाउन् भनेर उनलाई मात्रै नभएर उनी निकट धनाढ्य इलन मस्कलाई समेत खुसी पार्ने प्रयास गरिरहेको भारतलाई रूसी तेल किनिरहन मुश्किल हुनेछ।

चीनलाई पनि आफ्नो अर्थतन्त्रमा संकट पर्ने गरी रूसी तेल किन्न अप्ठयारो पर्नेछ।

उसो त ट्रम्पले सुरू गरेको व्यापार युद्धको सामना गरेर चीनले भर्खरै उनलाई झुकाएको छ। तर यो व्यापार युद्धभन्दा फरक हुनेछ। ट्रम्पले चीनलाई धम्क्याएर झुकाउन व्यापार युद्ध थालेकाले चिनियाँ जनताले दु:ख सहेर भए पनि चिनियाँ राष्ट्रपति सी चिनफिङलाई साथ दिएका थिए।तर आफ्नो अर्थतन्त्र खतरामा पारेर युक्रेनसँगको युद्ध रोक्न नमानेका पुटिनलाई काँध हाले चिनियाँ जनताले सरकारको साथ छोड्न सक्ने खतरा हुन्छ। सी आफै पनि पुटिनले युद्ध तन्काएकोमा खुसी छैनन् भनिन्छ। रूसलाई फाइदा हुने सर्तमा पनि पुटिनले युद्ध रोक्न नमाने रूसी तेल नकिन्न चीनलाई मनाउन सकिने अमेरिकी अधिकारी विश्वस्त देखिन्छन्।

ट्रम्प आफैले पनि युद्ध नरोकिए आफ्नो केही नलाग्ने भनेर अझै पनि पुटिनलाई मनाउन सक्नेछन्। अमेरिका प्रजातान्त्रिक देश भएकाले संसदको प्रचण्ड बहुमतले ल्याएको कानुनसामु आफू निरीह रहेको जिकिर गर्न पाउनेछन्। आफू नभएको भए रूसलाई धेरै नराम्रो हुन्थ्यो भन्ने उनको पछिल्लो अभिव्यक्तिले त्यही देखाउँछ।पछिल्लो समय आफ्ना अनन्य मित्र पुटिनसँग सम्बन्धमा तनाव आए पनि उनलाई युद्ध रोक्न ट्रम्पले थप दुई साताको समय दिएका छन्। के पुटिन युद्ध रोक्न चाहन्छन् भनेर पत्रकारले ट्रम्पलाई बुधबार सोध्दा उनले त्यसको जबाफ दुई सातामा दिने बताए। त्यतिन्जेल रूस र युक्रेनका अधिकारीबीच अर्को चरणको वार्ता हुने तय भएको छ।

त्यतिन्जेल पनि रूसले युद्ध रोक्ने लक्षण नदेखाए ट्रम्पले उनी निकट सिनेटर ग्राहमलाई रूसलाई थप प्रतिबन्ध लगाउने विधेयक अघि बढाउने इसारा गर्ने देखिन्छ। ट्रम्पको समर्थन भए सो विधेयक प्रतिनिधि सभाबाट पनि पारित हुनेछ।त्यसो भए पुटिनलाई खर्चिलो युद्ध धानिरहन धेरै मुश्किल हुनेछ। ट्रम्पसँग उनको एक दशकभन्दा बढीको मित्रता नै सकिने पनि खतरा हुनेछ।सेतोपती बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×