काठमाडौं । देशभरका उम्मेदवारहरू यतिबेला मतदाताको घरदैलोमा छन् । उनीहरू दिउँसोभन्दा बढी बिहान र साँझको समयमा मतदाता भेट्न पुग्छन् । चुनाव नजिकिएसँगै नेताले मतदातालाई हात जोडेर नमस्कार गरिरहने र मतदाताले घरको छत वा बार्दलीबाट हात हल्लाउने दैनिकजस्तै बनेको छ ।
सामान्य अवस्थामा नेतालाई मतदाताले नमस्कार गर्ने चलन भए पनि चुनावी माहोलमा भने परिस्थिति ठिक उल्टो छ । यतिबेला नेताहरू मतदातालाई हात जोडेर नमस्कार गरिरहेका छन् । सहरी क्षेत्रमा चुनावी घरदैलोको दृश्य अझ रमाइलो छ ।
सधैँ स्टेज वा उच्च आसनमा बस्ने नेता–कार्यकर्ताहरू मतदाताको घरमुनि सडकबाट नमस्कार गर्दै हिँड्छन् भने मतदाताहरू घरको छत वा बार्दलीबाट हात हल्लाउँदै नेताको आसनमा देखिन्छन् । तर, गाउँघरमा भने उम्मेदवारहरू घरमा भन्दा पनि मतदाताको खेतबारी र मेलापातमा पुग्छन्, जहाँ पनि नेताले मतदातालाई नमस्कार गर्छन् ।
यही क्रममा बिहीबार ललितपुर–३ की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. तोसिमा कार्कीलाई पछ्याउँदा घरदैलोमा मतदाताको उत्साह र उम्मेदवारसामु उनीहरूका चुनौतीका चाङ देखियो । बिहीबार बिहान ८ बजे ललितपुर महानगरपालिका–२३ मा पर्ने हात्तीवनस्थित ऐरावल टोलसुधार समिति चोकमा पुग्दा डा. तोसिमा कार्कीको टोली घरदैलोमा हिँडिरहेको थियो । करिब २० देखि २५ जना रास्वपाका नेता–कार्यकर्तासहितको टोलीमा कार्की मतदातालाई भेट्दै, नमस्कार गर्दै र भोट माग्दै थिइन् । उनका नेता–कार्यकर्ता कोही माइकिङ गर्दै त कोही प्रचार सामग्री बाँड्दै रास्वपालाई भोट दिन अपिल गरिरहेका थिए ।
माइकिङ गर्नेले ‘आदरणीय टोलबासी दाजुभाइ दिदीबहिनी, यहाँहरूको उम्मेदवार तोसिमा कार्की तपाईंको घरदैलोमा आइपुग्नुभएको छ’ भनिरहेका थिए । चोकमा केही मतदाताहरू कार्कीलाई पर्खेर जम्मा भइसकेका थिए । माइकिङ गर्दै कार्यकर्ता अगाडि नै आइपुगे पनि उम्मेदवार कार्की भने पाँच मिनेट ढिलो आइपुगिन् । उनले सडकबाटै घरको छत वा बार्दलीबाट हात हल्लाउने मतदातालाई हात जोडेर नमस्कार गर्दै अघि बढिन् । चोकमा जम्मा भएका महिला मतदाताहरूले तोसिमालाई जितको शुभकामना दिँदै अंगालो हाले र सबैले आ–आफ्नो मोबाइलबाट सेल्फी लिए ।
सेल्फी खिचिसकेपछि ७० वर्षीया सलिना अधिकारीले कार्कीलाई अँगालो हाल्दै यसपटक आफ्नो परिवारले ‘घण्टी’मा भोट दिने बताइन् । ‘मलाई घण्टी मन पर्छ । हाम्रो परिवारको सबै भोट घण्टीमा दिने सहमति भइसक्यो, ढुक्क हुनुहोस् । तपाईंले जित्नुहुन्छ,’ उनले भनिन् । कार्कीले उनलाई आश्वस्त पार्दै भनिन्, ‘आमा, हामी परिवर्तनको पक्षमा उभिएका छौँ । हजुरहरूले आशीर्वाद र फेरि भोट दिनुहुन्छ भन्ने विश्वास छ । हजुरहरूको मतलाई म खेर जान दिने छैन ।’

त्यस्तै करिब ४५ वर्षकी अर्की एक महिला मतदाताले पनि कार्कीलाई अँगालो हाल्दै ‘जेनजी आन्दोलनमा भएको ज्यादतीका कारण आफूले यो पटक परिवर्तनको पक्षमा घण्टीलाई भोट हाल्ने र त्यसका लागि पहिलो पटक लाइन बसेर मतदाता नामावलीमा नाम लेखाएको बताइन् । उनले आफ्नो परिवारका सबैको भोट घण्टीमै जाने सहमति भएको पनि सुनाइन् । कार्कीले मतदाताको मायाले नै आफू पुनः चुनावी मैदानमा आएको र उनीहरूको आशीर्वादले आगामी दिनमा यस क्षेत्रको विकासमा प्रतिबद्ध भएर लाग्ने बताइन् ।
उनले जनताका प्रश्नबाट भाग्ने प्रवृत्ति अन्त्य गर्दै जनताकै माझमा उभिएर हरेक प्रश्नको जवाफ दिने र रास्वपाले हावाको भरमा नभई तथ्यांक र अनुसन्धानमा आधारित रहेर नीति तथा कार्यक्रम बनाउने प्रतिबद्धता जनाइन् । कार्कीले संसद् र सरकार जहाँ भए पनि ललितपुरवासीको निडर र इमानदार प्रतिनिधिको रूपमा सधैँ आवाज उठाउने वाचा गर्दै आफ्नो पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरिन् ।
महिला मतदाताको सदभाव देखेपछि नेता–कार्यकर्ताहरू उत्साहित हुँदै ‘भोट केमा, घण्टीमा’ भन्दै नारा लगाए । त्यसपछि ‘घण्टी टिनिनिनी, घण्टी टिनिनिनी…नाच फिनिनिनी…’ गीत बज्यो । उम्मेदवार कार्कीसहित मतदाताहरू नाचे । प्रायः सबै महिला मतदाताहरू घण्टीमा भोट हाल्ने भन्दै उत्साहित देखिए र नाच्दै सेल्फी लिने क्रम केही मिनेट चल्यो । त्यसपछि कार्कीले चोक वरिपरि उपस्थित मतदाताहरूसँग भोट मागिन् । कतिपय मतदाताले मौन समर्थनमा टाउको हल्लाए भने केहीले भोट परिवर्तन गर्ने आश्वासन दिए ।
सोही चोकमा कार्कीले माइकमार्फत मतदातालाई सम्बोधन गर्दै आफूलाई किन मत दिने र जिताएमा आफू तथा पार्टीले के गर्ने भन्नेबारे पाँच मिनेट भाषण गरिन् । उनले आफूहरू अन्य दलभन्दा पाँच कुराले फरक रहेको दाबी गर्दै इमानदार, पारदर्शी र जनताप्रति जवाफदेही रहेको बताइन् ।
उनले ललितपुरवासीको निडर प्रतिनिधि बन्ने बाचा गरिन् । कार्कीले भ्रष्टाचारको गन्ध आएका व्यक्तिहरू आफ्नो पार्टीमा नरहेको दाबी गर्दै स्थापना भएको जम्मा तीन वर्षमै रास्वपा परिपक्व भइसकेको र सरकार हाँक्न सक्ने सचेत तथा इमानदार शक्तिका रूपमा स्थापित भएको बताइन् ।

उनले जनताका प्रश्नबाट भाग्ने प्रवृत्ति अन्त्य गर्दै जनताकै माझमा उभिएर हरेक प्रश्नको जवाफ दिने र रास्वपाले हावाको भरमा नभई तथ्यांक र अनुसन्धानमा आधारित रहेर नीति तथा कार्यक्रम बनाउने प्रतिबद्धता जनाइन् । कार्कीले संसद् र सरकार जहाँ भए पनि ललितपुरवासीको निडर र इमानदार प्रतिनिधिको रूपमा सधैँ आवाज उठाउने वाचा गर्दै आफ्नो पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरिन् ।
कोणसभा सकिएपछि कार्कीको घरदैलो अघि बढ्यो । उनको टोली अघि बढेपछि त्यहाँका एक युवा मतदातासँग हामीले ‘रास्वपा उम्मेदवारले चोकमा भाषण गरेर गए, भोट कसलाई दिने विचार गर्नुभएको छ ?’ भनेर सोध्यौँ । ती युवा मतदाताले नयाँ पनि चोखा नरहेको तर उनीहरूले मनपरी गरे जनताले सडकबाटै निकाल्ने बताए । उनले पुराना दल र नेताहरूप्रति चरम निराशा व्यक्त भए पनि मतदाताहरू नयाँहरूसँग पनि पूर्ण रूपमा विश्वस्त नरहेको दाबी गरे । उनले भने, ‘सबैको काण्डै काण्ड छ । नयाँको पनि काण्डै छ । काण्ड नभएको कोही छैनन् । नयाँमा पनि १० प्रतिशत मात्र राम्रा होलान् । त्यसैले प्रतिबद्धता र योजनाका आधारमा मात्रै भोट दिने सोचमा छु ।’
अघिल्लो निर्वाचनमा डा. तोसिमा कार्की ३१ हजार १३६ मत ल्याएर विजयी भएकी थिइन् । नेकपा एमालेका अमृत खड्का १२ हजार ९६३ मतसहित दोस्रो र नेपाली कांग्रेस–माओवादी गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल ८ हजार ७६९ मतमा खुम्चिएकी थिइन् ।
त्यस्तै अर्का एक मतदाताले पनि थपे, ‘पुराना दलहरूको विकल्पमा आएका नयाँ शक्तिहरूले पनि शतप्रतिशत विश्वास जित्न सकेका छैनन् । नयाँ भन्नेहरू पनि त्यति साह्रो चोखाचाहिँ छैनन् ।’ उनले नयाँ वा पुरानो जुनसुकै दलले सरकार बनाए पनि फेरि पनि अस्थिरता रहने चिन्ता व्यक्त गर्दै अब कसैलाई पनि आँखा चिम्लिएर भोट नहाल्ने बताए ।
त्यसपछि हामी पुनः कार्कीको घरदैलोमा सरिक भयौँ । घरदैलोमा नेता–कार्यकर्ताहरूले परिवर्तनका लागि यसपटक घण्टीमा भोट माग्छन् र धेरै मतदाताहरू ‘हस्’ भन्दै टाउको हल्लाउँछन् । कोहीले कार्कीलाई नै भोट दिने आश्वासन दिन्छन् । यही क्रममा रास्वपाका अगुवा कार्यकर्ताले एक घरमा ‘नयाँलाई भोट दिनुहोस्’ भन्छन् । रास्वपाका कार्यकर्ताले भोट मागेपछि घरभित्रका एक मतदाताले प्रश्न गरे, ‘नयाँलाई भोट दिएर के गर्छन् ? नयाँको देश बनाउने भिजन के हो ? पहिला जिताएर पठाएकै हो, के गर्नुभयो ?’ तत्काल रास्वपाका कार्यकर्ताले ‘अब सबै अधुरा काम नयाँले गर्ने, मुलुक नै रास्वपाको हातमा जाने, सरकार बनाएर विगतका भ्रष्टाचारी बाहिर ल्याउनेदेखि अधुरा सडक, पुल, खानेपानीका समस्या समाधान गर्ने’ भन्दै मतदातालाई आश्वस्त पारे ।

यसैगरी घरदैलो अघि बढ्दा जेम्स स्कुल नजिकको चिया पसलमा चियापान भयो । चिया पिउँदै गर्दा ऐरावत चोकभित्रकी मतदाता सबिना तिमल्सिनाले डा. कार्कीलाई सोधिन्, ‘तोसिमा मिस, हजुरले हाम्रो क्षेत्रमा सडक र खानेपानी ल्याइदिनुहुन्छ ?’ उनले आफ्नो घरवरिपरि सडक नबनेको र खानेपानीको ठुलो समस्या रहेको सुनाइन् । उनले भनिन्, ‘घर बनाएर बसेका छौँ । वरिपरि सबैतिर सडक पिच भएको छ, तर हाम्रो क्षेत्रमा सडक कालोपत्रे भएको छैन । पानीको सबैभन्दा ठुलो समस्या छ । खानेपानीको पैसा तीन वर्षदेखि तिरिरहेको छु तर अहिलेसम्म घरमा पानी आएको छैन । पैसा तिरेको पानी खान पाएको छैन ।’
चुनावमा भोट हालेर जिताएपछि आफ्नो क्षेत्रको खानेपानी र सडकको समस्या समाधान गरिदिन उनले आग्रह गरिन् । कार्कीले तिमल्सिनाको समस्या सुनेपछि भनिन्, ‘तपाईंको समस्या सुनेँ । मैले सकेको काम गर्छु । त्यहाँको के समस्या हो बुझेर सडक कालोपत्रे गर्ने र खानेपानीको व्यवस्थापन गर्ने जिम्मा मेरो भयो ।’

अघिल्लो निर्वाचनमा डा. तोसिमा कार्की ३१ हजार १३६ मत ल्याएर विजयी भएकी थिइन् । नेकपा एमालेका अमृत खड्का १२ हजार ९६३ मतसहित दोस्रो र नेपाली कांग्रेस–माओवादी गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल ८ हजार ७६९ मतमा खुम्चिएकी थिइन् ।
यसपटक कार्कीसँग नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्र श्रेष्ठ, एमालेका सन्दन थापा मगर र नेपाल कम्युनिस्ट पार्टीबाट राजकाजी महर्जन यहाँ प्रतिस्पर्धामा छन् । रातोपाटी बाट साभार






