धनगढी न्यूज

‘परिवारले पहिचान स्वीकार गर्दा जति खुसी कहिल्यै लागेको थिएन, न लागेको छ’

करिब १६ वर्ष अघिको कुरा हो।

डिसेम्बर १ तारिख, अर्थात् विश्व एड्स दिवस थियो। रेडियो मकवानपुर सुन्दै आमालाई भान्सामा सघाउँदै थिए विश्वराज अधिकारी।

हेटौंडाका उनी आफै त्यति बेला रेडियो मकवानपुरमा ‘देखे जस्तो होइन जीवन’ कार्यक्रम चलाउँथे। त्यसैले जहाँ बसे पनि रेडियो सुन्ने बानी थियो।

रेडियो सुनिरहँदा उनले पहिलो पटक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे सुने। त्यस दिन एड्सको विषयमा कुरा हुँदै गर्दा उक्त समुदायको नाम जोडिएको उनलाई आज पनि याद छ।

त्यसपछि उनलाई यो समुदायबारे जान्ने रहर भयो।

त्यो बेला अहिलेजस्तो जताततै इन्टरनेट थिएन। उनको कार्यालय र साइबर क्याफेमा मात्र चलाउन पाइन्थ्यो। त्यसैले अर्को दिन कार्यालय पुगेर उनले गुगलमा खोजे।

‘महिला–पुरूषभन्दा फरक देखिने, फरक पोसाक लगाएका भारतका केही व्यक्तिहरू भेटेँ। पढ्दै जाँदा नेपालका सुनिलबाबु पन्तको पनि फोटो भेटेँ,’ विश्वले भने।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक, अधिकारका निम्ति लडिरहेका सुनिलबाबु पहिलो समलिंगी सभासद हुन्।

‘सुनिलबाबुलाई देखेपछि नेपालमा पनि यस्ता मान्छे रहेछन् भन्ने थाहा भयो,’ विश्वले भने।

गुगलमा उनले त्यो दिन प्रशस्त सन्दर्भ–सामग्री फेला पारेनन्। बिस्तारै दैनिक खोज्न थाले। विभिन्न लेख र किताब पढे। अनि बल्ल यो समुदायबारे बुझ्दै गए।

‘पढ्दै–बुझ्दै जाँदा आफ्ना भावनाहरूसँग मिलेजस्तो लाग्यो,’ उनले भने, ‘म पहिल्यैदेखि दाजुभाइ भन्दा अलि फरक थिएँ। उनीहरू खेल्न जाँदा म एक्लै किताब पढेर बस्ने, आफूलाई सजाउने गर्थे। बोलाइ, हिँडाइ, खुवाइ पनि अरूभन्दा फरक नै थियो।’

उनले थपे, ‘त्यही कारण कताकता म पनि यही समुदायको हुँ कि भन्ने लाग्न थाल्यो।’

सुरूमा उनलाई यो समुदायका मानिस भन्नासाथ जन्मजात वा समाजले तोकेको हुलियाभन्दा अलि फरक देखिन्छन् वा देखिनैपर्छ भन्ने लाग्थ्यो। सुनिलबाबुलाई देखेपछि उनको भ्रम टुट्यो।

‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मान्छेको हुलिया जस्तो पनि हुन सक्छ भन्ने भयो। जन्मको आधारमा महिला वा पुरूष जे हो, त्यही हुलियाको पनि हुने रहेछ भन्ने बुझेँ,’ विश्वले भने।

त्यति बेला २०/२१ वर्षका उनी स्नातक तह पढ्दै रेडियोमा काम गरिरहेका थिए। उनी यो समुदायबारे बुझ्न भनेर ब्लू डाइमन्ड सोसाइटीको हेटौंडा शाखा ‘फ्रेन्ड हेटौंडा’ पुगे।

त्यहाँ उनले रेडियोको विज्ञापनका लागि आएको भन्दै आवतजावत बढाए। दुई–चार पटक गएपछि यो समुदायबारे पनि बुझे। बुझ्दै जाँदा उनलाई आफ्नो पहिचान प्रस्ट हुँदै गयो।

‘मलाई आफू गे अर्थात् समलिंगी पुरूष भएको यकिन भयो,’ उनले भने, ‘तर तत्काल परिवारलाई भन्ने हिम्मत जुटाउन सकिनँ।’

हेटौंडा उपमहानगरपालिका–१४ मा जन्मे–हुर्केका विश्वका दुई दाजुभाइ र एक बहिनी छन्। सानैदेखि पढाइमा राम्रै थिए। संस्कृत पनि पढेका छन्।

‘घरमा धर्मकर्म र परम्परामा धेरै विश्वास गरिन्थ्यो। मेरो अलग पहिचान अस्वीकार गर्ने हो कि भन्ने डर भयो र केही भनिनँ,’ उनले भने।

विश्वलाई आफ्नो समुदायबारे अझै धेरै बुझ्न मन भइरह्यो। उनले ‘फ्रेन्ड हेटौंडा’ मै काम गर्न चाहे र जागिर पाए पनि। तर यसबारे पनि घरमा भनेनन्। वैदेशिक सहयोगमा चल्ने कार्यालय भएकाले तलब पनि राम्रै पाउँथे।

‘तलब घरमा लगेर दिँदा यति धेरै पैसा कहाँबाट आयो भनेर आमाबुबाले सोध्नुहुन्थ्यो,’ उनले भने, ‘तर अफिसबारे भन्न नसकेर चुप बस्थेँ।’

संस्थाको कामले उनी विभिन्न ठाउँमा जानुपर्थ्यो। उनी समुदायभित्र झन् खुल्दै गए।

उनी परिवारलाई पनि आफ्नाबारे भन्न खोजिरहेका थिए। उनीहरूले थाहा पाऊन् भनेरै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे लेखिएका पर्चा, पम्प्लेट घरै छाडेर निस्किन्थे। कहिलेकाहीँ आफू र कार्यालयले बनाएका डकुमेन्ट्री हेर्न पनि बोलाउँथे। तर उनलाई कसैले केही सोधेन।

उनको घर र कार्यालय १५/२० मिनेटको दुरीमा थियो। तर पछि विश्व कामको व्यस्तताले अप्ठ्यारो परेको भन्दै डेरा लिएर बस्न थाले।

डेरा बसेको ६–७ महिना भएको थियो, ब्लू डाइमन्ड सोसाइटीले उनलाई काठमाडौं बोलायो। त्यो बेला ब्लू डाइमन्डको कार्यालय लाजिम्पाटमा थियो। अहिले धुम्बाराहीमा छ।

उनी सन् २०१२ मा काठमाडौं आए र काम गर्न थाले। बिहानको कलेज भर्ना भए।

विश्व हिरो बन्ने सपना देख्थे। आफूलाई चिटिक्क सजाउँथे।

‘बिहान ६ बजे कलेज जान ४ बजे नै उठेर मेकअप गर्थेँ,’ उनले सुनाए, ‘आमाले सधैं कस्तो केटीजस्तो नक्कल पार्नुपर्ने भन्नुहुन्थ्यो।’

विश्व केही समयपछि ‘मिस्टर गे ह्यान्डसम २०१३’ प्रतियोगितामा सहभागी भए। सो कार्यक्रम टिभीमा आउने थियो। आफूलाई झट्ट देख्दा परिवारलाई नराम्रो लाग्छ कि भन्ने डर उनलाई भयो।

अनि कार्यक्रममा जानुभन्दा एक दिनअगाडि उनले आमाबुबालाई फोन गरेर भने, ‘म गे ह्यान्डसम कार्यक्रममा जाँदैछु। भोलि अरूले के के भन्लान्, चिन्ता नलिनू।’

यत्ति भनिसक्दा के जबाफ आउँछ भन्ने डरले विश्वले फोन राख्नै लागेका थिए।

बुबाले भने, ‘जे गरे पनि अरूको नराम्रो नगर्नू। गलत बाटोमा नलाग्नू।’

त्यो दिन उनलाई आफू जति खुसी यो संसारमै कोही छैन भन्ने लाग्यो।

‘परिवारले पहिचान स्वीकार गर्दा जति खुसी न कहिल्यै भएको थियो, न पछि भएको छ,’ विश्वले भने।

उनी ढुक्क भएर प्रतियोगितामा भाग लिए र विजेता भए।

‘पहिचान सार्वजनिक भएपछि स्कुल र पछिका सबैजसो साथीहरू टाढिँदै गए,’ उनले भने, ‘बाँकी थोरै चाहिँ अहिले पनि साथमा छन्। साँच्चै मनदेखि माया गरेका साथी चिन्ने अवसर मिल्यो। त्यसैले छाडेर जानेप्रति केही गुनासो भएन।’

यसपछि समुदायका साथीहरू भने बढ्दै गए।

काम गर्दैगर्दै उनी अभियानी बने। तर आम्दानीको बलियो स्रोत थिएन। तलबले खर्च मात्र टर्थ्यो। त्यसैले उनी आम्दानी बढाउने माध्यम खोज्न थाले।

उनले कामको सिलसिलामा एक अनुभव गरेका थिए। साथीहरूसँग विभिन्न रेस्टुरेन्ट वा चिया पसल छिर्दा अप्ठ्यारो महसुस हुन्थ्यो। मानिसहरूले पनि अलि बेग्लै नजरले हेरेझैं लाग्थ्यो। त्यसैले भेटघाट वा गफगाफ गर्न उपयुक्त ठाउँ थिएन।

विश्वको सानैदेखि खाना बनाउने सोख थियो। त्यसैलाई व्यवसाय बनाउँदै रेस्टुरेन्ट खोल्ने सोचे।

उनले यसबारे आफ्ना ‘प्रेम-पार्टनर’ सँग पनि कुरा गरे। दुवैको सहमतिमा ६ लाख रूपैयाँ लगानी गरी सन् २०१९ फेब्रुअरीमा उनीहरूले खोले — ग्यालेक्सी रेस्टुरेन्ट।

उनका पार्टनर नेवार समुदायका भएकाले पनि ग्यालेक्सीमा विशेषगरी नेवारी खाना पाइन्छ।

‘हाम्रो कानुनी रूपमा त बिहे भएको छैन तर १२ वर्षदेखि सँगै छौं,’ विश्वले भने, ‘परिवार र समुदायभित्र मात्र खुलेका छौं।’

रेस्टुरेन्ट सुरू गरेको दुई महिना नबित्दै कोभिड महामारी सुरू भयो। मासिक ४० हजार रूपैयाँ भाडा तिरेर लामो समय बन्द गर्नुपर्दा ७/८ लाख रूपैयाँ घाटा भएको उनले बताए।

घाटामा गएपछि बन्द गर्नुपर्छ कि भन्ने पनि उनीहरूलाई लाग्यो। तर मन मानेन। कोभिड नियन्त्रण भएसँगै पुनः सञ्चालनमा ल्याए।

ग्यालेक्सी रेस्टुरेन्ट लाजिम्पाटमा छ। ब्लू डाइमन्ड सोसाइटीको कार्यालय पहिले यहीँ भएकाले यो क्षेत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका धेरै मानिस बस्छन्। यो ठाउँसँग घुलमिल भइसकेकाले स्थानीयले पनि सहयोग पुर्‍याएको विश्वले बताए।

‘सुरूमा मैले यो रेस्टुरेन्टलाई आफ्नै समुदायका साथीहरूसँग भेटघाट गर्ने ठाउँ बनाउने सोचेका थिएँ। तर स्थानीयको पनि रोजाइमा पर्‍यो,’ उनले भने, ‘व्यवसाय फस्टाउँदै गयो। कर्मचारी र क्षेत्रफल थप्यौं। अहिले दुईतले पूरै घर भाडामा लिएका छौं।’

एउटा फराकिलो कोठाबाट सुरू भएको ग्यालेक्सी तीन वर्षअघि पूरै घरमा फैलिएको हो। अहिले उनीहरू बाहेक यहाँ चार जना काम गर्छन्।

विश्वका अनुसार मासिक ५/७ लाख रूपैयाँको कारोबार हुन्छ। एक–डेढ लाख रूपैयाँ नाफा बच्छ।

कमाएको पैसाबाट उनी आवश्यक पर्दा आफ्ना समुदायका साथीहरूलाई सहयोग गर्छन्। सडक कुकुरहरलाई खाना पनि खुवाउँछन्। आफैले ७/८ वटा कुकुर पनि पालेका छन्।

‘आत्मनिर्भर भएसँगै राजनीतितिर पाइला चालेको छु,’ ३७ वर्षीय विश्वले भने, ‘समुदायले खोलेको समावेशी समाजवादी पार्टीमा आबद्ध छु। फागुन २१ गते हुने निर्वाचनको समानुपातिक उम्मेदवार पनि हुँ।’सेतोपाटी बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×