धनगढी न्यूज

सुदूरपश्चिममा खेतका गरामा ‘हरेलो’ गाडेर साउने सङ्क्रान्ति मनाइँदै

धनगढी : आज साउन सङ्क्रान्तिको दिनलाई सुदूरपश्चिम प्रदेशमा ‘हरेली’ सङक्रान्ति पर्वका रूपमा मनाइँदै छ।

मेलसहित विभिन्न प्रजातिका बोटविरुवाको ‘हरेलो’ (हरिया हाँगा अन्नबाली लगाइएका खेतका बीच भागमा गाड्ने) गाडेर यो पर्व मनाइँदै छ।

हरेली सङ्क्रान्तिका दिन खेतमा गाडेको ‘हरेलो’ पलाएर आउँदा अन्न उत्पादन वृद्धि हुने जनविश्वास रहेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीले बताए। असार महिनाभरि कृषि कर्ममा लाग्ने किसान आजका दिन परिवारका सदस्य एवं आफन्तका साथमा एक ठाउँमा भेला भई रमाइलो गरी पर्व मनाउँछन्। सौर्य पद्धति अनुसार आज साउने सङ्क्रान्ति पनि भनिने हुनाले आजकै दिनदेखि दक्षिणायन आरम्भ हुन्छ। “प्रदेशमा आजको दिनलाई ‘लुतो फाल्ने’ दिनका रूपमा पनि लिइन्छ।

असार महिनाभरि कृषि कर्ममा व्यस्त हुनुपर्ने किसानको शरीरमा लाग्ने हिलो मैलोबाट छालासम्बन्धी रोग निको पार्ने विश्वासका साथ आजको दिनलाई लुतो फाल्ने दिनका रूपमा मनाउने गरिएको हो”, जोशीले भने। उनका अनुसार लुतो फाल्दा आ–आफ्नो परम्पराअनुसार केही समय नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्नुपर्ने परम्परा छ।

साउनलाई अँध्यारो हुने महिनाका रूपमा लिइने भएकाले देवस्थल र देवभण्डारमा दियो वा बत्ती बालेर उज्यालो पारिन्छ। साउन महिनाभरि नवदुलहीले माइत बस्नुपर्ने प्रचलन पनि सुदूरपश्चिममा छ।

साउन महिना र सोमवारलाई शिवजीको महिना र बार भन्ने धार्मिक मान्यता अनुसार यो महिनाभर देवालयलमा पूजाआजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ। महिलाले हरियो चुरा, माला र मेहदी लगाएर व्रत बस्ने गर्छन्। साउनको सोमवार शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वास रहेको उपकुलपति जोशीले बताए। दिनेश खबर बाट सभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×