स्वास्थ्यकर्मीले आफूहरू सङ्घीय संरचना अनुसार समायोजनमा परे पनि सेवा, सुविधा र सरुवामा विभेद भएको गुनासो गरेका छन् ।


स्वास्थ्यकर्मीको नेतृत्वमा गठन भएको ‘स्थानीय तह स्वायत्त स्वास्थ्यकर्मी सङ्घर्ष समिति, सुदूरपश्चिम प्रदेश’ का अनुसार समायोजनपछि आफूहरू राज्यद्वारा स्थापित कानुनी संरचना अनुसार सेवा दिँदै आए पनि तलब, सुविधा, सरुवालगायतका विषयमा विभेद भोग्नु परेको अवस्था रहँदै आएको छ । तीनबुँदे मुख्य माग राखिएको ज्ञापनपत्रमा सङ्घीय निजामती सेवा ऐन अनुसार समायोजनमा परेका स्वास्थ्यकर्मीको हकहित सुनिश्चित गरिनुपर्ने, ऐन तथा नियम अनुसार कर्मचारीसँग समान व्यवहार गरिनुपर्ने र विभेदपूर्ण व्यवहारको अन्त्य गरी स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक नीतिगत निर्णय गर्नुपर्ने माग गरिएको छ ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य समस्या
स्वास्थ्य सेवा प्रभावित स्वास्थ्यकर्मीले आन्दोलनको कार्यक्रम अघि बढाउँदा ग्रामीण क्षेत्रमा पर्ने सेवा प्रभावबारे पनि चासो व्यक्त गरिएको छ । अहिले मौसमी सङ्क्रमणको समय भएकाले डेङ्गु, भाइरल ज्वरो, रुघाखोकी, खोप तथा प्रसुति सेवामा व्यापक असर परेको स्थानीयवासीको भनाइ छ ।
“स्वास्थ्यकर्मी आन्दोलनमा लाग्दा दैनिक स्वास्थ्य सेवा प्रवाहमा अवरोध आइरहेको छ,” बैतडीको सिगास गाउँपालिकास्थित स्वास्थ्यचौकी प्रमुख तथा सङ्घर्ष समितिका संयोजक राजेन्द्रसिंह साउदले बताए । उनले ज्ञापनपत्रमार्फत राखिएका माग पूरा नभए चरणबद्ध आन्दोलनलाई थप तीव्र बनाउने चेतावनीसमेत दिए । धनगढी खबर बाट साभार







