
कञ्चनपुरः कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ झलारीबाट पश्चिमतर्फ गइरहेका शुक्लाफाँटा–५ गर्जमुनिका ४० वर्षीय खडक साउँद आइतबार (हिजो) साइकलबाट लडेर नालिमा रहेको सरीया टाउकोमा लागेर घाइते भएका थिए।

टाउकोमा सरीया पसेर घाइते भएका साउँदलाई तत्कालै स्थानीयहरूले उद्धार गरी उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्याएका थिए। अवस्था गम्भीर देखिएकाले उनलाई नेशनल मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि, थप उपचारका लागि भारत लगिएको थियो।

दुर्भाग्यवश, आज (सोमवार) उनको उपचारका क्रममा भारतमा निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। प्रहरीका अनुसार, यस प्रकारको दुर्घटना रोक्न सतर्कता अपनाउनु पर्ने आवश्यकता रहेको छ।







