धनगढी न्यूज

काठमाडौं उपत्यकाका सडक भासिने समस्या बढ्दै

काठमाडौँ — ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलतर्फ जाने भित्री सडकमा बुधबार बिहान भ्वाङ पर्‍यो । झन्डै ३ मिटर क्षेत्र भासिएपछि सडक नै अवरुद्ध भयो । सडकमा भ्वाङ पर्नुको कारण खुलिसकेको छैन ।

एक साताअघि (साउन २४) काठमाडौंको दरबारमार्गको महेन्द्र सालिकबाट काठमाडौं प्लाजा निस्कने बीचबाटोमै भ्वाङ परेको थियो । त्यो भ्वाङमुनिबाट टुकुचा खोला बगिरहेको छ । टुकुचाको कल्भर्ट जीर्ण भई सडक भासिएको सडक डिभिजन काठमाडौंले जनाएको छ । त्यहाँ ५ मिटर गहिराइ र ४ मिटर चौडाइको भ्वाङ परेको थियो ।

गत असार १९ मा सोह्रखुट्टेबाट बालाजुतर्फ जाँदै गर्दा नयाँबजारमा बनेको खाडलमा एक मोटरसाइकल नै खस्यो । मोटरसाइकल चालक जसोतसो निस्किए । करिब ३ घण्टा लगाएर काठमाडौं महानगर र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले ११ फिट गहिरो खाल्डोबाट मोटरसाइकल निकाल्यो ।

२०८० माघ १२ मा रत्नपार्कतर्फ जाँदै गरेको यात्रुसहितको बस नयाँबानेश्वर चोक सडकमा गुडिरहेकै अवस्थामा सडक भासियो । सर्भिस लेनतर्फ भासिएको सडकमा बसको चक्का फस्यो र कोल्टे पर्‍यो । त्यसअघि २०७८ कात्तिक ८ मा नयाँ बानेश्वरको मुख्य लेनको बीच सडकमा ठूलो खाल्डो परेको थियो ।

काठमाडौं उपत्यकाभित्रका सडक भासिने, ठूलो भ्वाङ पर्ने घटना बढ्दै गएका छन् । यस्ता घटनाले सडक यात्रा जोखिमपूर्ण बन्दै गएको जानकारहरू बताउँछन् । काठमाडौं उपत्यकाको माटोको तह कमजोर रहेको, लगातारको झरीले माटो खुकुलो बनाई बगाएर लैजाने र जमिन भासिने समस्या देखापर्ने गरेको पूर्वसचिव मधुसूदन अधिकारी बताउँछन् । साथै सडक संरचना बलियो नहुँदा पनि भासिने समस्या हुने उनले सुनाए ।

‘सतहमा चट्टान नहुँदा काठमाडौंको माटो त्यति बलियो छैन । वर्षात् बढी भएकाले पानीले माटो खुकुलो बनाएको छ,’ उनले भने, ‘तर मुख्य संरचना कमजोर नभई जमिन भासिने समस्या हुँदैन । सडक बनाउँदा कम्प्रेसन राम्रोसँग भएन भने कमजोर हुन्छ । अहिले भारी वर्षा भयो र बाढी पनि ठूलो आयो । त्यसले भित्रभित्रै माटो बगायो र जमिन धसियो ।’

उनका अनुसार भासिएको सडक मात्र नभई त्यसको आसपासको क्षेत्र पनि जोखिमयुक्त हुन्छ । यस्तो बेला भूकम्पको सामान्य धक्का मात्र आए भासिएको जमिन नजिकको ठोस माटोलाई पनि बगाएर लैजान सक्छ । ‘जमिन दरार पर्‍यो वा भासिएको बेला भूकम्पको सामान्य धक्का मात्र आयो भने जमिन विस्तारै बगेर जाने ‘स्लाइड फ्लोडिङ’ हुन्छ,’ उनले भने, ‘ठोस माटो पनि खुकुलो हुने, सर्ने र झन् भासिने समस्या हुन्छ । त्यसैले भासिएको जमिन मात्र नभई नजिकै रहेका राम्रो जमिनलाई पनि बगाएर लान सक्छ ।’ सडकमा भएको खाल्डाखुल्डीबीच यात्रा गर्दा स्वभाविक रूपमा जोखिम निम्त्याउने उनी बताउँछन् । यसको लागि समयमै बिग्रिएको सडक मर्मत गर्ने र जोखिम क्षेत्रभित्र बार लगाउनुपर्ने उनको सुझाव छ ।

वर्षाको सिजनमा भूकम्प जाँदा खुकुलो भएका जमिनमाथि बनेका संरचना भत्किने जोखिम रहेको खानी तथा भूगर्भ विभागकी उप–महानिर्देशक मोनिका झाले बताइन् । ‘बर्खाको सिजनमा भूकम्प गयो भने जमिन खुकुलो भएर भत्किएर जान सक्छ,’ उनले भनिन् । उनका अनुसार उपत्यकाको सतह बालुवाको मिश्रणले बनेको भएकाले वर्षामा जमिनभित्र सजिलै पानी पस्दा माटो बगेर जाने समस्या छ । उपत्यकाको सडक भासिनुको मुख्य कारणबारे विभागले अध्ययन नगरे पनि पानीले गर्दा माटो खुकुलो भई भासिने गरेको उनको भनाइ छ ।

‘मुख्य पानीले गर्दा माटो बगाउने हुन्छ । वर्षाको पानी मात्र नभई जमिनमुनि भएका पाइपको पानी लिकेज हुँदा माटो बगाएर लैजाने अनि ठूलो खाल्डो पर्ने र भासिने गर्छ,’ झा भन्छिन्, ‘काठमाडौं उपत्यकाको सडक भासिनुको कारणमा सडक विभागले बाटोहरू कसरी बनाइरहेको छ, त्यसमा पनि भर पर्छ । एउटै कारणले मात्र सडक भासिने भन्ने हुँदैन ।’

सडक विभागका सूचना अधिकारी इन्जिनियर उमेशबिन्दु श्रेष्ठले विभाग मातहत निर्माण भएका सडक संरचना राम्रो भएको दाबी गरे । अन्य निकायले सडक भत्काउने र पुनर्निर्माणमा ढिलाइ गरिदिनाले बाटो बिग्रिएको उनले बताए । ‘उपत्यकाभित्रका सबै सडक हाम्रा मातहत छैनन् । हाम्रा मातहत भएका सडक पनि जहाँ विद्युत्, टेलिकम, ढलले खनेका छन्, त्योबाहेक सबै ठीक छ,’ उनले भने, ‘यीबाहेक अरूमा समस्या छैन । यी आवश्यक सेवा भएकाले रोक्न पनि मिल्दैन । सात दिनका लागि अनुमति लिने र महिनौं लगाएर काम सकिदिने समस्या छ ।’

टुकुचा खोलाको कल्भर्ट निर्माण गर्न ठेक्का आह्वान

सडक डिभिजन, काठमाडौंले टुकुचा खोलामाथि कल्भर्ट बनाउन बुधबार ठेक्का आह्वान गरेको छ । डिभिजनका सूचना अधिकारी महानन्द जोशीले करिब ४५ लाख रुपैयाँको बजेटमा टुकुचा खोलामाथि कल्भर्ट निर्माण गरिने जानकारी दिए । ‘ठेक्का आह्वान गरेका छौं । अब ठेक्का पास भएर निर्माण सुरु हुन ४० दिन लाग्छ,’ उनले भने, ‘नियमअनुसार जाँदा टुकुचा ढिला भएको हो ।’

सडक विभागका सूचना अधिकारी इन्जिनियर उमेशबिन्दु श्रेष्ठले ठूलो रकम लाग्ने भएकाले ठेक्कामार्फत निर्माण गर्न लागिएको जानकारी दिए । ‘एक/दुई लाख रुपैयाँको सानो आयोजना भएको छिट्टै बनिसक्थ्यो,’ उनले भने, ‘निर्माणको बजेट धेरै छ । अब ठेक्काबाट राम्रो बनाउँछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×